धरान : धरान–२० विष्णुपादुकास्थित निर्माणाधीन सुम्निमा–पारुहाङ प्रतिमा परियोजनाका लागि खरिद गरिएको जग्गाको सरकारी अभिलेख र प्रतिष्ठानले सार्वजनिक गरेको खर्च विवरणबिच ठुलो अन्तर देखिएको छ।
धरान–६ स्थित नापी तथा मालपोत कार्यालय पानमाराको अभिलेखअनुसार प्रतिमा निर्माणका लागि २५ कित्ताको १८ कट्ठा ७ दशमलव ६ धुर जग्गा खरिद–बिक्री भएको देखिन्छ । उक्त जग्गाको खरिद बापत थैली रकम ३ करोड ५१ लाख ४१ हजार ५३ रुपैयाँ उल्लेख छ । थैली रकममा ४ दशमलव ५ प्रतिशतका दरले तिरिएको राजस्व १३ लाख ७३ हजार १३६ रुपैयाँ जोड्दा कुल करिब ३ करोड ६५ लाख १४ हजार १८९ रुपैयाँ लेनदेन भएको देखिन्छ ।
तर सुम्निमा–पारुहाङ प्रतिष्ठानले सार्वजनिक गरेको जग्गा खरिद तथा व्यवस्थापन शीर्षकमा १० करोड ८७ लाख १ हजार ४०० रुपैयाँ खर्च भएको जनाएको छ । मालपोत अभिलेखमा देखिएको खरिद रकम र प्रतिष्ठानले सार्वजनिक गरेको खर्च विवरणबिच करिब ७ करोड २२ लाख रुपैयाँको अन्तरका बारेमा भने प्रतिष्ठानले स्पष्ट गरेको पाइएको छैन ।
प्रतिष्ठानले जेठ ३० गते आयोजित पत्रकार सम्मेलनमार्फत हालसम्म प्रतिमा निर्माण अभियानका लागि १५ करोड ९४ लाख ८३ हजार ८४८ रुपैयाँ सङ्कलन भएको जनाएको थियो ।
कोषाध्यक्ष दत्त लिम्बुका अनुसार सङ्कलित रकममध्ये १४ करोड ५६ लाख ३९ हजार ३७६ रुपैयाँ खर्च भइसकेको छ । भने १ करोड ३८ लाख ४ हजार ४७२ रुपैयाँ बैङ्क मौज्दात रहेको छ । सबै आर्थिक कारोबार बैङ्कमार्फत गरिएको र लेखा परीक्षण प्रक्रिया पनि अगाडि बढिरहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार जग्गा खरिदका क्रममा लाग्ने ४ दशमलव ५ प्रतिशत राजस्व बापत २८ लाख ३१ हजार रुपैयाँ बुझाइएको छ । थप एक कठ्ठा जग्गा खरिदका लागि १५ लाख रुपैयाँ बैना पनि दिइएको उपाध्यक्ष राजेन्द्र राईले जनाएका छन् ।
प्रतिष्ठानका अनुसार हालसम्म आफ्नो नाममा २२ कठ्ठा १ धुर ४ दशमलव ४२ धुर जग्गा आइसकेको छ । ३ कठ्ठा जग्गा दान स्वरूप प्राप्त भएको छ । थप १ कठ्ठा जग्गा खरिद प्रक्रिया बैना मार्फत अघि बढाइएको छ ।
नगरपालिकाको फिल्ड नाप जाँच अनुसार प्रतिमा निर्माण क्षेत्रभित्र कुल ३२ कठ्ठा साढे ३ धुर नम्बरी जग्गा रहेको र विदेश, विशेष गरी बेलायतमा रहेका केही जग्गाधनीसँग समन्वय गरी बाँकी जग्गा प्राप्त गर्ने प्रक्रिया जारी रहेको उपाध्यक्ष राईले बताएका छन् ।
प्रतिष्ठानले जग्गाको अवस्थिति र बजार मूल्य अनुसार प्रति कठ्ठा १८ लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म तिरेर खरिद गरिएको तथा सबै भुक्तानी बैङ्क मार्फत गरिएको दाबी गरेको छ ।