धरान : धरान उपमहानगरपालिका वडानं. २० मा आफ्नो घरमा काम गर्ने युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा एक जनालाई धरान प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएको छ ।

साबिकको विष्णुपादुका गाविसका पूर्व सचिव र खानेपानी कार्यालयमा पनि काम गरेका ६५ वर्षीय एक जनालाई इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको कारण अनुसन्धानको लागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेका व्यक्तिले आफ्नो घरमा काम गर्न राखिएका एक जना युवतीलाई जङ्गलमा जर्वजस्ती गरेको र उनी गर्भवती भएको भएको जस्तो देखिएपछि स्थानीयले सोधपुछ गर्दा उनी गर्भवती भएको बताएको स्थानीयले बताएका छन् ।

पीडित युवतीले आइतबार दिउसो जाहेरी दिएपछि साँझ पिडकलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् । उनका अनुसार उनलाई थप अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडी बढाइने छ ।