धरान : धरान उपमहानगरपालिकाको मङ्गलवार बिहान बसेको कार्यपालिका बैठकले धरान खानेपानी आयोजनाको कार्यान्वयन पक्षको मूल्याङ्कनका लागि विज्ञहरूको एक समिति बनाउने निर्णय गरेको छ ।

यस भन्दा अघिको कार्यपालिका बैठकमा खानेपानीको विषयमा कुरा उठाइएपछि स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक मङ्गलवार पुन बसेको थियो । मङ्गलवार आज बसेको बैठकले खानेपानी परियोजनाको मुल्याङकनका लागि मेयर तिलक राईको प्रस्तावमा एक विज्ञ टोलीको समिति बनाउने निर्णय भएको छ । समितिले दिएको राय सुझाव अनुसार खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा मर्ज गर्ने पनि मेयर राईले प्रतिबद्धता जनाएको बताइएको छ ।

यसै गरी धरान आसपासको खोला उत्खननको बारेमा पनि छलफल भएको छ । धरान उपमहानगरपालिकाको ६, ५ र १५ मा रहेका अँधेरी र सेउती खोलामा पुल आसपासको ५ सय मिटर क्षेत्रमा क्यानोलिङ गर्ने निर्णय भएको छ भने सेरा खोलामा भने धरान उपमहानगरपालिकाले उत्खनन गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।

यसका लागि पनि एक अनुगमन समिति बनाइएको छ । समितिको संयोजकमा १५ नम्बर वडाका वडाध्यक्ष नरेश इङ्वाराम, ५ नम्बर वडाध्यक्ष सन्तोष लिम्बु, ६ नम्बर वडाध्यक्ष भुवनसिंह बस्नेत, १७ नम्बर वडाध्यक्ष मनोज भट्टराई, धरान उपमहानगरपालिकाको राजश्व शाखाबाट खगेन्द्र खतिवडा र वातावरण शाखाबाट भेषराज घिमिरे सदस्य रहेको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।