इटहरी : नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले सामाजिक, शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमसहित सप्ताहव्यापी उत्सव सम्पन्न गरेको छ।
नेपाल स्काउट कोशी प्रदेश सरकारको निर्देशनअनुसार आयोजित कार्यक्रमले विद्यार्थी, शिक्षक तथा समुदायलाई एकै सूत्रमा बाँध्ने काम गरेको स्काउट शिक्षिका वन्दना दाहालले बताइन्।
सप्ताहव्यापी कार्यक्रमको सुरुवात असार १ गते ‘स्काउट भित्ते दर्पण’ नामक पत्रिकाको विमोचनबाट गरिएको थियो। असार २ गते ‘तपाईँले कल्पना गर्नुभएको ग्रिन सिटी इटहरी’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका ३० जना विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूले हरित, स्वच्छ र व्यवस्थित इटहरीको परिकल्पनालाई चित्रमार्फत प्रस्तुत गरेका थिए।
असार ३ गते स्थानीय चन्देश्वर शिव मन्दिर तथा विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममार्फत वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरिएको विद्यालयले जनाएको छ।
त्यसै गरी, असार ५ गते आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए। स्काउट शिक्षिका दाहालका अनुसार उक्त कार्यक्रमले मानव सेवाको भावनालाई थप सशक्त बनाएको छ।
स्थापना दिवसको अवसरमा विद्यालयले २०५३ सालको पहिलो स्काउट ब्याचका सदस्यहरूलाई विशेष सम्मानसमेत गरेको छ। सम्मानित हुनेहरूमा फडिन्द्रप्रसाद दाहाल, रतन कार्की ९कैलाश०, अर्जुन पराजुली, उत्तम कार्की, मञ्जु भट्टराई र अमृता सुब्बा रहेका छन्। विद्यालयले स्काउट अभियानमा उनीहरूको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ।
कार्यक्रम नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं इटहरी–१ का वडाध्यक्ष कैलाश कार्कीले राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि उदाहरणीय कार्य गर्दै आएको बताए।
विद्यालयले स्काउटको मूल मन्त्र ‘सेवा, अनुशासन र नेतृत्व’लाई व्यवहारमा उतार्दै स्थापना दिवसलाई समाजसेवा, सृजनशीलता र सम्मानको पर्वका रूपमा मनाएको जनाएको छ।



































































