धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले आफूलाई कसैलाई होच्याएर आफू ठुलो भएको देखाउनु आवश्यक नभएको बताएका छन् । उनले भने ‘म काममा विश्वास गर्छु र हल्ला खल्ला नगरी आफ्नै तरिकाले निरन्तर काममा लागिरहेको छु ।’
शारा थापा स्मृति प्रतिष्ठानद्वारा आइतवार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि उनले आफ्नो बारे सामाजिक सञ्जालमा गरिने टिप्पणीको सङ्केत गरे पनि कसैको नाम उल्लेख नगरी उक्त कुरा बताएका हुन ।
पछिल्लो समय कार्यवाहक प्रमुख बेघा काठमाण्डौमा मन्त्रालय चहारेर योजना माग गरेपछि सङ्घीय बजेटमा धरानलाई परेको रकम, खानेपानीको योजनाबारे सांसद हर्क साम्पाङ जस लिने होडमा छन् । साम्पाङले फेसबुकमा कतिपय प्रसङ्गमा कावा प्रमुखको नामै तोकेर होच्याएको पनि पाइन्छ ।
कावा प्रमुख बेघाले उपमहानगरपालिकाले गर्नु पर्ने काम प्रतिष्ठानले गरेको उल्लेख गर्दै भने ‘आफूले नगरेको काम अरू कसैले गरेको छ भने त्यसको प्रशंसा गर्न सक्नु पर्दछ, त्यसो गर्दा सानो भइन्न ।’
कार्यक्रममा प्रतिष्ठानले धरान नगर पञ्चायतका भूतपूर्व उपप्रधानपञ्च श्याम गोविन्द श्रेष्ठ र प्रधानाध्यापक डा.इन्द्रमोहन झालाई सम्मानित गरेको थियो । कावा प्रमुख बेघाले उपमहानगरपालिकाको अग्रज नेतृत्व श्रेष्ठ र शिक्षामा योगदान दिएका झालाई नगरपालिकाले सम्मान नदिइरहेको बेला प्रतिष्ठानले सम्मानित गर्नु प्रशंसा योग्य कार्य भएको बताए ।
प्रतिष्ठानले कार्यक्रममा उपमहानगरपालिकाका दर्जन महिला सफाइ कर्मचारीलाई डुयुटीको बेला लगाउन पोसाक वितरण गरेको थियो । त्यसलाई नगरपालिकाले गर्नु पर्ने कार्यमा ध्यानाकर्षण गराएको भन्दै कावा प्रमुखले धन्यवाद दिए । उनी सोधिरहेका थिए ‘मानिसहरू आफूले गर्न नसकेको काम अरूले गर्दा किन प्रशंसा गर्न चाहँदैन ?’
शारा थापा प्रतिष्ठान वीरेन्द्रसिंह थापाका मातापिता शान्तिलता, राजेन्द्रबहादुर थापाको स्मृतिमा स्थापना गरिएको कल्याणकारी संस्था हो । कार्यक्रममा संस्थाद्वारा आयोजित ‘हाम्रो धरान हाम्रो गौरव’ विषयक निबन्ध प्रतियोगीताका विजयीहरूलाई पुरस्कार वितरण गरियो ।
प्रतियोगितामा पब्लिक हाई स्कुल धरान १२ कक्षा १२ की गुञ्जन लुइँटेलले प्रथम पुरस्कार प्राप्त गरिन् । विजयपुर मावि कक्षा १२ कि सविस्ता सेवाले दोस्रो, ज्ञानोदय मावि कक्षा १२ का सागर तामाङले तेस्रो एवं युएन स्कुलकी सियाेन गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरिन् । विजयीहरूलाई ५ हजार, ३ हजार, २ हजार, १५ सय र प्रमाणपत्र प्रदान गरियो ।
प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा डा.राजेन्द्र शर्माले प्रतिष्ठानको धरान बनाऔँ भन्ने सोच सकारात्मक रहेको बताए । मोहन श्रेष्ठले स्वागत भाषण गरे, विष्णु बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।








































































