धरान : काँग्रेस, एमालेबाट नयाँ पार्टीमा गएको समाचार आइरहेको बेला धरानका व्यवसायी शिवराज श्रेष्ठ एमालेबाट काँग्रेसका फर्केको समाचारले निकै महत्त्व पाएको छ । उनी पहिले काङ्ग्रेसमै थिए । अहिले फर्किएको मात्र हुन ।

सत्तारुढ रास्वपाको जगजगी बढेको मान्न थालेको बेला उनी किन फेरी काँग्रेस मै फर्किए ? धरानमा यो चाहिँ मुख्य चासो बनेको पाइन्छ । काँग्रेस परित्याग गरेपछि उनी एमालेको समर्थनमा सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षका उम्मेदवार बने । एमालेको आर्थिक संयोजकका रूपमा श्रेष्ठ धरानमा छुट्टै व्यापार मेला लगाउन पनि सफल भए ।

एमालेमा उनको राम्रो पोजिशन थियो । तथापि उनी काँग्रेसमा फर्किएका छन् । काँग्रेसमा फर्कनुको मुख्य कारण श्रेष्ठले भनेका छन् ‘गगन थापाप्रति भरोसा जागेकाले अब बाचिन्जेल काँग्रेस नछाड्ने गरी फर्किएको छु ।’ उनले काँग्रेसमा फर्कन प्रोत्साहित गर्ने स्थानीय नेताहरूबाट ‘पार्टीमा जिम्मेवारी वहन गर्ने’ वचन दिएको सङ्केत पनि गरेका छन् ।

श्रेष्ठ मातृसंस्थामा फर्किएको अवसरमा काँग्रेस पूर्व सांसद चन्द्रप्रसाद श्रेष्ठले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका छन् । जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर उपसभापति नरेन्द्र कुमार राई प्रवीण, राजु साह लगायत नेता कार्यकर्ताले अबिर लगाएर उनलाई स्वागत गरेका थिए ।

shivraj shrestha