धरान : सांसद हर्क साम्पाङका समर्थक धरान-१५ का गणेश मगरले बुधवार इलाका प्रहरी कार्यालयमा ‘आफूले फेसबुकमा चेलीबेटीको अगाडि पढ्न नसकिने’ कुरा लेखेकोमा लज्जित भएको बताउँदै माफी मागेका छन् ।
संयोगवश त्यसको भोली पल्ट बिहीबार श्रम संस्कृति पार्टीका अध्यक्ष, सांसद साम्पाङले बिहीबार प्रतिनिधिसभामा गृहमन्त्रीसँग सामाजिक सञ्जाल र अनलाइनमा जथाभाबी अभिव्यक्ति दिनेहरूलाई कारबाही गर्नुपर्ने माग गरेको समाचार चर्चाको विषय भएको छ ।
तत्कालीन धरान उपमहानगरपालिकाको प्रमुख हुँदा साम्पाङले फेसबुकमा गरेका गाली, गलौज, धाक धम्कीको स्कृनशट अहिले पनि कसैकसैले उदाहरणको रूपमा प्रयोग गरेको पाइन्छ । उनका विदेशमा बस्ने समेत समर्थकहरूको ‘अश्लील, अनैतिक’ शब्द प्रयोग विरुद्ध सबै भन्दा धेरै उजुरी इलाका प्रहरी कार्यालय धरानमा परेको छ ।
त्यो क्रम अझै पनि नरोकिएको कुरा बुधवार इलाका प्रहरी धरानमा विदेश बसेर आएका समर्थक गणेश मगरले फेसबुकमा गरेको गालीगलौजबाट पुष्टि हुन्छ ।
इलाका प्रहरी कार्यालय धरानमा नियन्त्रणमा रहेका मगरले नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष जनकऋषि राईसँग माफी माग्दै आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएका हुन ।
राईले मगर विरुद्ध विद्युतीय कारोबार सम्बन्धी प्रचलित कानुन अनुसार उजुरी दर्ता गराएका थिए । प्रहरीले उनको सामाजिक सञ्जाल प्रयोग भएको उपकरण समेत अनुसन्धानका लागि जफत गरेको जनाएको छ ।
यसै बिचमा नेता साम्पाङले सामाजिक सञ्जालमा गाली गलौज गर्नेहरूलाई कारबाहीको माग गर्नु पर्ने माग उनैका कार्यकर्ता,समर्थकहरूका लागि चेतावनीको सन्देश बनेको पीडितहरूले बताएका छन् ।
सांसद साम्पाङले प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयको बजेटमाथि छलफलका क्रममा अनलाइनमा हुने गाली-गलौच र अमर्यादित अभिव्यक्तिप्रति कडा नियमन आवश्यक रहेको बताएका हुन ।
उनले गृहमन्त्री सुधन गुरुङलाई प्रश्न गर्दै “अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?” भन्दै ध्यानाकर्षण गराएका थिए।




































































