धरान : धरानका २ युवकलाई को ३० प ४५०९ नम्बरको मोटरसाइकलमा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ पर्नेमा धरान–१६ का ३० वर्षीय एलिनजंग राणा र धरान–११ का ३१ वर्षीय सन्देश लिम्बु छन् । उनीहरूका साथबाट लागुऔषध ब्राउन सुगर १२ ग्राम ६५० मिलिग्राम बरामद भएको छ । थप अनुसन्धान भइरहेको छ । 
कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १२ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूको साथबाट कुला ४२ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, स्कुटर २ थान र मोटरसाइकल १ थान बरामद गरिएको छ ।
पक्राउ पर्नहरुमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले मेचीनगर–१४ का २३ वर्षीय गोपाल मलाहालाई ३ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–९ का २९ वर्षीय ईराज भट्टराई र सिन्धुलीका ३० वर्षीय धनबहादुर बस्नेतलाई प्र।१–०१–०१३ प ९४८० नम्बरको स्कुटरमा १० ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर–१० का २४ वर्षीय शेख अरमान र २४ वर्षीय युवराज राजवंशीलाई ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले इटहरी–५ का २७ वर्षीय ईश्वर राउतलाई ४ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
साथै सोही टोलीले बेलबारी–३ का २६ वर्षीय सुमित राई र २५ वर्षीय आशिष् मगरलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी सुनसरी र इलाका प्रहरी कार्यालय लौहकीको टोलीले इटहरी–४ का ४३ वर्षीय बिशे चौधरी र ४३ वर्षीय भुप नारायण चौधरीलाई ७ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटरमा पक्राउ गरेको छ ।