धरान : अहिलेको गर्मी मौसममा बिजुली झ्याप झ्याप गएर लगातार अवरुद्ध हुने समस्याको समाधान गर्न धरानको १३ वटा टोल विकास समितिले नेपाल विद्युत् प्राधिकरणको धरान कार्यालयलाई बिहीबार दबाब दिएको छ ।

टोल विकास समितिको संयुक्त प्रतिनिधिमण्डलले प्राधिकरणका धरान प्रमुख इन्जिनियर कृष्णहरि पोखरेललाई दिनमा तीन-चार पटकसम्म विद्युत् जाने समस्या दोहोरिएको, सूचना बिना लामो समय लाइन कट्ने गरेको भन्दै तत्काल सुधारको माग गरेको हो ।

पोखरेलसँग साकेला टोल विकास समिति अध्यक्ष मात्रिका राईले अहिलेको गर्मी मौसममा अनियमित विद्युत् आपूर्तिले जनजीवन प्रभावित भएको बताइन् । संयुक्त समितिका सचिव इन्द्रकुमार राईले समस्या एक वर्षअघि समाधान हुने आश्वासन दिइए पनि अझै यथावत् रहेको बताए ।

प्रतिनिधि मण्डलले प्राधिकरणले विद्युत् आपूर्तिको अनियमितता तत्काल सुधार नभए आगामी दिनमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संयुक्त प्रतिनिधिमण्डलले समस्या समाधानको मागसहित दबाब बढाएपछि विद्युत् प्राधिकरण धरान वितरण केन्द्रले धरानमा विद्युतको संरचनागत सुधार आवश्यक रहेको बताएको छ ।

प्रमुख इन्जिनियर कृष्णहरि पोखरेलका अनुसार हालको वितरण प्रणालीले बढ्दो विद्युत् माग धान्न नसक्दा बारम्बार अवरोध हुने अवस्था आएको बताए ।

उनले भने, ‘पुराना लाइन र ट्रान्सफर्मरको क्षमता सीमित छ ।’ नयाँ लाइन विस्तार, ट्रान्सफर्मर स्तरोन्नति नभएकोले नियमित मर्मतबाट काम चलेकोले समस्या आएको उनले बताए । उनका अनुसार धेरै विद्युत् अवरोध जङ्गलमा रुखका हाँगा भाँचिएर हुने गरेको छ ।

उनले भने ‘रुखको हाँगाबाट हुने अवरोध व्यवस्थापन नगरे सम्म समस्या पूर्ण रूपमा समाधान हुन कठिन छ ।’