इटहरी : असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्षमा ६ जनासम्म दाबेदार देखिएपनि बिस्तारै सहमति र गठबन्धनको कारण दुई पक्षीय प्रतिस्पर्धा हुने भएको हो ।
अध्यक्षमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायत दलहरूको तर्फबाट नवराज काफ्ले उम्मेदवार बन्ने भएका छन् । एमालेको समर्थनमा उम्मेदवारी दिने तयारीमा रहेको बलराम न्यौपाने सदस्यको उम्मेदवार बनेर वरिष्ठ उपाध्यक्ष बन्नेगरि सहमति भएको जनाइएको छ ।
काँग्रेसले अध्यक्ष र कोषाध्यक्ष पाउँदा एमालेले वरिष्ठ उपाध्यक्ष र महासचिव पाउनेगरि सहमति भएको छ । सदस्यमा भने सबैतिर बराबर भागबन्डा गर्नेगरि सहमति भएको एमाले निकट एक व्यवसायीले बताए । काँग्रेस र एमाले निकट व्यापारीहरू गठबन्धन प्रति उत्साहित छन् ।
अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेलले गायत्री कटवाललाई उवासंघ इटहरीको आधिकारिक उम्मेदवारको पत्र दिएका थिए । काँग्रेस निकट व्यवसायीहरू जीवन पराजुली र कटवालले दाबी गरेपछि पौडेलले कटवाललाई सघाउन व्यवसायीलाई आग्रह गरे । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पराजुलीले कटवाल र एमालेको तर्फबाट उम्मेदवारी दिएकी रञ्जु सिग्देललाई भारी मतान्तरले पराजित गरे । पराजुली भर्खरै महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
यस पटक काँग्रेसले कटवाललाई छलफलमा समेत नबोलाई निर्णय गरेको हो । जेनजी आन्दोलनमा कटवाल सहभागी भएको भन्दै काँग्रेस नेताहरू उनीप्रति रुष्ट छन् । कटवाल भने स्वतन्त्र उम्मेदवारी दिएर भएपनि चुनाव लड्ने अन्तिम तयारीमा छिन् । अघिल्लो पटक पराजित भएको सान्त्वना मत र काँग्रेस एमाले गठबन्धन विरुद्धको मतलाई एकीकृत गर्ने उनको योजना छ ।
चुनावी अभियानलाई तीव्रता दिँदै उनले सचिवालय नै सञ्चालनमा ल्याएकी छिन् । उनलाई काँग्रेस निकट अधिकांश व्यवसायीले आन्तरिक समर्थन गरेका छन् । एमाले समर्थित व्यवसायीले समेत उनको अभियानमा जोडिएका छन् । प्यानलै बनाएर चुनावी अभियानमा जाने बताएकी उनी यस पटक गठबन्धन विरुद्ध भारी पर्ने भएकी छिन् ।
नवराजले समेत चुनावी अभियानलाई तीव्र पारेका छन् । पार्टी निकट र केही स्वतन्त्र व्यापारीसँग व्यक्तिगत भेटघाटमा उनले समय दिइरहेका छन् । लामो समय उवासंघमा सक्रिय भएका उनी सरल र इमान्दार व्यवसायीको रूपमा चिनिन्छन् । अधिकांश पूर्व अध्यक्षको साथ पाएका उनले युवा व्यवसायीलाई समेटेर प्यानल बनाउने तयारी गरेका छन् ।
जम्मा २३६५ मतदाता रहेको उवासंघ इटहरीमा यस पटकको निर्वाचन अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको छ । अधिकांश मतदाताको नवीकरण नभएको कारण चुनावी अभियान सिमित व्यवसायी बिचमा हुने भएको छ । दुई पक्षीय प्रतिस्पर्धा भएपनि अन्ततः काँग्रेस निकट व्यवसायी नै अध्यक्ष निर्वाचित हुने प्रस्ट देखिएकाे छ।
असार १ गते मतदाता नामावली सार्वजनिक भएसँगै निर्वाचनका गतिविधि अगाडी बढेको हो । मतदाता उपर दाबी विरोधका लागि एक साता समय राखिएको छ । ७ गतेसम्म दाबी विरोध गर्न पाउने र ८ गते छानबिन गरेर अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।
११ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र २१ गते मात्र अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची छ । २७ गते हुने निर्वाचनको २८ गते छलफल गरेर मतगणना गरिने निर्वाचन अधिकृत टङ्क प्रसाद दुलालले जानकारी दिएका छन् ।