विराटनगर : विराटनगर महानगरपालिकाले घर तथा भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। नाला जाम, सडक क्षति तथा निर्माणजन्य फोहोर व्यवस्थापनका समस्या न्यूनीकरण गर्ने उद्देश्यले घरनक्सा पास प्रक्रियासँगै सात बुँदे सरसफाइ मापदण्ड अनिवार्य गरिएको हो।

महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको व्यवस्था अनुसार अब निर्माण सामग्री सडक, पेटी तथा नालामा राख्न पाइने छैन। निर्माण सामग्री ढुवानीका क्रममा नाला जाम भए वा संरचनामा क्षति पुगेमा सम्बन्धित निर्माणकर्ताले आफ्नै खर्चमा सफाइ तथा मर्मत गर्नुपर्नेछ।

त्यस्तै, निर्माणस्थलबाट निस्कने बालुवा, सिमेन्ट तथा माटो मिसिएको पानी नालामा बगाउन निषेध गरिएको छ। निर्माण कार्यका क्रममा सम्भावित दुर्घटना तथा मानवीय क्षति रोक्न आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने व्यवस्था पनि गरिएको छ।

महानगरले अन्तिम नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माणस्थल आसपासका नालाको सफाइ, नाला ढक्कनको मर्मत तथा सडकमा भएको क्षतिको व्यवस्थापन अनिवार्य गरेको जनाएको छ। तोकिएका कार्य पूरा नभएसम्म अन्तिम नक्सा पास प्रमाणपत्र जारी नगरिने व्यवस्था गरिएको छ।

अनुगमनका क्रममा मापदण्ड उल्लंघन गरेको पाइएमा नियमानुसार जरिवाना गरिने महानगरले जनाएको छ। निर्माणजन्य फोहोर सडक तथा सार्वजनिक स्थानमा जथाभावी फाल्न वा थुपार्न समेत रोक लगाइएको छ।

महानगरका अनुसार निर्माणकर्ताले सबै शर्त पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुपर्नेछ। मापदण्ड उल्लंघन भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८१ बमोजिम कारबाही गरिनेछ।

सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालले घरनक्सा पास प्रक्रियासँगै सरसफाइका मापदण्डलाई कडाइका साथ लागू गर्दा नाला जाम हुने समस्या २० देखि २५ प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको बताए। महानगरले यसबाट सहरी सरसफाइ सुधार हुनुका साथै सडक तथा अन्य सार्वजनिक पूर्वाधार संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।