धरान : मदन भण्डारी मेमोरियल दोस्रो सुनसरी जिल्ला अन्तर क्लब धरान महिला फुटबल कप २०८३ को मङ्गलवार सम्पन्न उद्घाटन खेलमा धरान लेडिज फुटबल टिमले विजयी सुरुआत गरेको छ ।
धरानले हाम्रो इटहरी भेट्रान क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सुरुवात गरेको हो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
धरान लेडिजका लागि एलेक्स चौधरी, केरेन लिम्बु, आयुषा राई र समीक्षा मगरले सफल प्रहार गर्दै गोल गरे भने सिम्रन राईको प्रहार विफल भएको थियो ।
हाम्रो इटहरी भेट्रान क्लबका लागि मनिता तामाङ, कल्पना कार्की र पुनम लिम्बुले गोल गरिन् । पेन्जु राई र समीक्षा आचार्यको प्रहार सफल हुन सकेन । त्यसै कारण इटहरी टोली पहिलो खेलमै पराजित भयो ।
धरान-१६ स्थित रङ्गशालामा धरान सिटी फुटबलको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सांसद विजय राईले गरेका थिए ।
धरान सिटी फुटबलका अध्यक्ष सागर घिमिरेले प्रतियोगिता नेपालमै पहिलो पटक धरानबाट सुरु गरिएको क्लब स्तरीय महिला फुटबल खेल भएको दाबी गरेका छन् । उनका अनुसार यसअघि नेपालमा क्लब स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना भएको थिएन ।पहिलो संस्करण नगर स्तरीय रहेकोमा दोस्रो संस्करणमा प्रतियोगितालाई सुनसरी जिल्लाका महिला फुटबल क्लबहरूलाई सहभागी गराइएको अध्यक्ष घिमिरेले बताए । यस वर्ष प्रतियोगितामा धरानका ७ सहित इटहरी, वराहक्षेत्र र रामधुनीका गरी जम्मा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ८१ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेताले ४१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले ४ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।





































































