धरान : आउँदो २०८४ को स्थानीय तहको चुनावमा नेतृत्व गर्न महिलालाई प्राथमिकता दिनु पर्ने माग गर्दै मङ्गलवार महिला सञ्जालले धरान उपमहानगरपालिका गेट अगाडि कोणसभा गरेको छ ।
‘धरानमा ८४ मा महिला पहिला अनि मात्र अरू’ भन्ने नारा सहित गरिएको कोणसभा महिला सञ्जालले महिला मञ्च,गृह श्रमिक महिला लघु ढाका उद्यमी समूह, अन्तर पुस्ता महिलावादी मञ्चको संयुक्त आयोजनामा गरेको हो । 
कोणसभामा सञ्जाल अध्यक्ष सावित्री इङवारमले महिला नेतृत्वलाई अवसर दिन समाज र राजनीतिक दल दुवैले सोच परिवर्तन गर्नुपर्नेमा जोड दिइन् । महिला अधिकारकर्मी रिता थापाले महिलाहरूले आफ्नो पहुँचको दायरा विस्तार गर्नुपर्ने बताउँदै नेतृत्व क्षमता विकास अपरिहार्य भएको बताइन् ।
उपमेयरमा महिलालाई प्राथमिकता दिए पनि उपमेयर चुनावमा महिलाले पराजय व्यहोरेको घटना महिलाहरूले ‘चेत खुलाउने घटना’ मान्नु पर्ने बताउँदै नेतृत्वमै दाबी गर्ने दिन आएको उनले बताइन् ।
सभामा सहभागीहरूले राज्यका सबै तहमा महिलाको समान सहभागिता बिना दिगो र सम्मानजनक विकास सम्भव नहुने बताए । महिलाले अधिकार नदिइएको भन्दै मात्र बस्नुभन्दा अधिकार प्राप्तिका लागि सक्षम,संयमित,सक्रिय र सङ्गठित बन्नु पर्ने उनीहरूको भनाई थियो ।
‘८४ मा महिला पहिला’ अभियान अनुसार ६ दिनमा आठ जिल्लामा कोणसभा सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ । अभियान आगामी निर्वाचन र नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको हो ।