धरान : धरान बजारमा पछिल्ला केही महिना यता ट्राफिक व्यवस्थापन थप जटिल बन्दै गएको छ । भोटेपुलदेखि भानुचोकसम्मको मुख्य सडक खण्ड सहित विभिन्न चोकहरूमा दैनिक जाम, लेन अनुशासन उल्लङ्घन र अव्यवस्थित सवारी आवागमन नियमितजस्तै देखिन थालेको छ ।
विशेष गरी लेन मिच्ने, ट्राफिक सङ्केतको बेवास्ता गर्ने र वन–वे प्रणाली उल्लङ्घन गर्ने प्रवृत्ति बढेसँगै दुर्घटनाको जोखिम समेत उच्च बन्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अनिल मावोहाङका अनुसार धरानको ट्राफिक समस्या कुनै एक कारणले नभई सडक संरचना, बढ्दो सवारी चाप र चालकहरूको अनुशासनहीन व्यवहारको संयुक्त परिणाम हो । 
साँघुरा सडक, पर्याप्त पार्किङ व्यवस्थाको अभाव र जनसंख्या तथा सवारी साधनको वृद्धि मुख्य चुनौतीका रूपमा रहेको मावोहाङले बताए । 
हालै धरानका सडकहरूमा लेन सेपरेटर जडान गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको ट्राफिक प्रहरीको भनाइ छ । धेरै चालकहरूले लेन अनुशासन पालना नगर्ने, अनावश्यक ओभरटेक गर्ने तथा जथाभाबी लेन परिवर्तन गर्ने प्रवृत्तिका कारण अपेक्षित सुधार देखिन नसकेको उनीहरू बताउँछन् । 
वन–वे सडकमा समेत नियम उल्लङ्घनका घटनाहरू नियमित जस्तै देखिन थालेका छन्न । ट्राफिक प्रहरीले रोक्ने प्रयास गरे पनि छोटो बाटो र समय बचतका लागि नियम बेवास्ता गर्ने प्रवृत्ति कायम रहेको छ, जसले जामसँगै दुर्घटनाको जोखिम पनि बढाएको ट्राफिक प्रहरीको भनाई छ।
सुनसरी ट्राफिक प्रमुख मावोहाङले जनशक्ति अभावका बिच पनि ट्राफिक व्यवस्थापन सुधारका लागि प्रयास जारी रहेको बताए । उनले भने, “धरानमा ट्राफिक प्रहरीको जनशक्ति सीमित छ। हामी निरन्तर प्रयास गरिरहेका छौँ। बसपार्क स्थानान्तरण प्रक्रिया ढिला हुँदा पनि सवारी चाप बढेको छ। असार १३ गते बसपार्क सार्ने तयारी छ ।”
उनका अनुसार ट्राफिक व्यवस्थापनलाई केवल कारबाहीको दृष्टिकोणले मात्र नभई सचेतना र सहकार्यको आधारमा अघि बढाइएको छ। उनी भन्छन् “हामी कारबाहीसँगै सम्झाइ–बुझाइ र ट्राफिक नियमबारे सचेतना फैलाउने काम पनि गरिरहेका छौँ ।” 
यसैबिच पैदल यात्रुको सुरक्षामा पनि जोखिम बढ्दै गएको ट्राफिक प्रहरीको मूल्याङ्कन छ। जेब्रा क्रसिङको प्रयोग भए पनि सवारी साधन नरोकिने र गति नियन्त्रण नहुने समस्या कायम रहेको पैदल यात्रुहरूको भनाइ छ ।
धरानको ट्राफिक अवस्था सुधारका लागि प्रहरी प्रयास मात्र पर्याप्त नहुने देखिएको ट्राफिक प्रहरी बताउँछ । सडक प्रयोगकर्ताको जिम्मेवार व्यवहार, ट्राफिक नियमप्रति कडाइका साथ पालना र सामूहिक सचेतना बिना दीर्घकालीन समाधान सम्भव नहुने ट्राफिक प्रहरीको निष्कर्ष छ ।
trafic-on-way