धरान : सुनसरी जिल्ला कोशी आसपासका माझी समुदायको परम्परागत पेशा माछा मार्ने भएतापनि उनीहरू पहलमानी खेल कुस्तीमा निपुण थिए, प्रतिस्पर्धा गर्न भारत समेत जाने गरेको कुरा साहित्यकार नीर प्रसाद कोइरालाको हालै प्रकाशित ‘माझी पहलमान’ नामक पुस्तकमा उजागर गरिएको छ ।
लेखक स्वर्गीय नीरप्रसाद कोइराला इनरुवा स्थित भगवती माविका शिक्षक थिए । उनको पुस्तक ‘माझी पहलमान’ धरानका साहित्यकार पत्रकार गिरिराज आचाईको सम्पादनमा हालै प्रकाशित भएको छ ।
उक्त पुस्तका गत: महिला जेठ २७ गते इनरुवा आयोजित एक समारोह बिच इनरुवा नगर पालिका प्रमुख केदार भण्डारीले विमोचन गरेका हुन ।विमोचनको अवसरमा लेखक स्व. नीरप्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरियो ।
पूर्व राज्यमन्त्री सीताराम मेहता, काङ्ग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, भगवती स्कुलका पूर्व प्रधानाध्यापक गोकुलप्रसाद श्रेष्ठ, साहित्यकार लेखनाथ घिमिरे, पूर्व प्रधानाध्यापक पुरुषोत्तम घिमिरे, छवि नाथ रिजाल, कवि लीलानाथ सिलवाल, नवीन साह छोडकन मेहताले लेखक कोइरालाको सम्झना गरेका थिए ।
सम्पादक आचार्यका अनुसार सुनसरीका माझी समुदायको जीवनको लुकेको पाटो उनीहरू पहलमानीमा निपुन थिए भन्ने कुरा यो कृतिले उजागर गरेको छ । अहिले सम्म कोशी छेउछाउका माझी जातिको परम्परागत जीवन माछा मारेर जीविकोपार्जन गर्ने कुरा मात्र दोहोरिँदै आएको थियो ।
इनरुवा लगायतका गाउँहरूमा हुने परम्परागत कुस्ती खेलमा अव्वल मानिने पिछडिएका समुदायको माझी जातीको पहलमानी परम्परालाई चित्रण गरिएको छ । पुस्तकमा उनीहरू इनरुवा देखी भारतको विभिन्न स्थानमा हुने कुस्तीको अखाडाहरुमा पहलमानी प्रतिस्पर्धा गर्न सुनसरीका माझीहरू पुग्ने गर्दथे भन्ने संस्मरण उल्लेख छ ।
पुस्तक ३२२ पृष्टको छ । पुस्तक प्रकाशक निर्जा कोइराला,निर्जला कोइराला,निर्मल कोइराला,निकेश कोइराला छन् । मुल्यः ५०० रुपया छ ।




































































