धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका-४ का १० वटै सरकारी विद्यालय पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । यो कोशी प्रदेशमै पहिलो पटक खोप सुनिश्चत घोषणा गरिएको हो ।

बिहिवार चानुवा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका प्राविधिकहरुको अनुगमन पछि यी विद्यालयमा खोप सुनिश्चित गरिएको चौकीका प्रमुख राजकुमार थापाले जानकारी दिए । यसका लागी महालक्ष्मी नगरपालिकाको स्वास्थ्य शाखा, ४ नम्बर वडा कार्यालय, विद्यालयका प्राध्यापक र अभिभावकहरुको सक्रिय उपथिती रहेको थयो ।

राष्ट्रिय खोप ऐन, २०७२ को परिच्छेद ७ को दफा (३३) मा बालबालिका विद्यालय भर्ना गर्दा निजको संरक्षक वा अभिभावसँग बालबालिकालाई दिइएको खोप कार्ड माग गर्न सक्ने प्रावधान छ । सोही व्यवस्था अनुसार महालक्ष्मी ४ का सबै विद्यालयको अनुगमनका क्रममा कुनै पनि विद्यालयमा खोप नलगाएको बालबालिका भेटिएको थिएन ।

सबै सरोकारवाला पक्षसँगको समन्वयमा हरेक विद्यालयमा विद्यार्थी भर्ना गर्दा खोप अनिवार्य गर्ने थप प्रतिवद्धता समेत जाहेर भएको थापाले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारले चलाई रहेका नियमित खोपहरु कुनै पनि बालबालिकाले नछुटाइ लगाएको पाइएको हो । ‘खोप कार्य दीगो र प्रभावकारी होस् भन्ने उदेश्यले सबै विद्यालयलाई प्रतिवद्धता जाहेर गर्न समेत लगाइएको छ ।’ उनले भने ।