धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिकाले क्वारेनटाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन् ।

पाख्रिबास नगरपालिका ३ मा रहेको कृषि तथा वन विश्वविद्यालय अन्तरगतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा बाहिरी जिल्ला तथा विदेशबाट आएका मानिसलाई राख्न क्वारेनटाइन बनाउने निर्णय नगरपालिकाले गरेपछि विवाद सुरु भएको हो ।

कृषि क्याम्पसमा नगरपालिकाले एकलौटी ढङ्गले स्थानीयसँग समन्वय नगरी जबरजस्ती क्वारेनटाइन राख्न लागेको स्थानीयको आरोप छ । कृषि क्याम्पसको निर्माणाधीन भवनमा क्वारेनटाइन राख्ने विषयमा ५ दिन यता पटक पटक नगरपालिका र वडावासी बिच वार्ता भए पनि सहमति जुटेको छैन । नगरपालिकाको विपत् व्यवस्थापन समितिले कृषि क्याम्पस उपयुक्त रहेकाले क्वारेनटाइन बनाउने निर्णय गरेको नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मोहम्मद स्वमाइलले बताए ।

उनले सरकारले देशबाहिर रहेका नागरिक ल्याउने निर्णय गरेपछि क्वारेनटाइन बनाउनु परेको बताए । पाख्रीवास नगरपालिकाका १ हजार ४ सय ४२ जना देश बाहिर रहेकोमा ती मध्ये करिब ४ सय मानिस भारतमा रहेको बताए । भारतमा रहका नागरिक तत्काल आउने भएकाले क्वारेनटाइन बनाउनु परेको उनको भनाइ छ । नगरपालिकाले अन्य ठाउँमा क्वारेनटाइन बनाउँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई असहज हुने भएकाले कृषि क्याम्पस नै उपयुक्त रहेको स्माइलको भनाई छ । बाहिरबाट आएका मानिसहरू सिधै गाउँ पठाउन नमिल्ने भएकाले क्वारेनटाइन तत्काल आवश्यक परेको हो ।

यता वडावासीहरूले भने कृषि क्याम्पसमा क्वारेनटाइन राख्दा स्थानीयवासी सन्त्रास उत्पन्न हुने र क्याम्पसको पठनपाठनमा अवरोध पुग्ने भन्दै पाख्रीवास कृषि क्याम्पस संरक्षण सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । क्याम्पस निर्माणको चरणमा रहेकाले क्वारेनटाइन बनाउँदा निर्माण कार्य समेत प्रभावित हुने उनीहरूको भनाइ छ । निर्माणाधीन क्याम्पसलाई क्वारेनटाइन बनाएर क्याम्पस अन्यत्र स्थानान्तरण गर्न लागेको सङ्घर्ष समितिका संयोजक प्रणय कुमार गुरुङले बताए ।

अरू सबै नगरपालिकाले वडा वडामा क्वारेनटाइन निर्माण गरेको भए पनि पाख्रिबास नगरपालिकाले भने कृषि क्याम्पसलाई नगरभरिको लागि क्वारेनटाइन बनाउन लागेको स्थानीयको भनाइ छ । देशमा लकडाउन नभएको भए गएको वैशाखबाट नव निर्मित भवनमा कक्षा सञ्चालन हुने तयारी गरिएको थियो । तर, चैतबाट भएको लकडाउनले निर्माण सम्पन्न हुन ढिलाइ भएको उनीहरूको भनाइ छ ।

देशमा भएको लकडाउन खुल्ने बित्तिकै कक्षा सञ्चालन हुँदा क्याम्पसको नवनिर्मित भवनमा कक्षा सञ्चालन होस भन्ने स्थानीयको चाहाना रहेकाले सो ठाउँमा क्वारेनटाइन बनाउन नदिने क्याम्पसकी जग्गादाता रुपा राईले बताइन । ‘खाइ नखाई गरेर हामी मिलेर सय रोपनी जग्गा क्याम्पस सञ्चालन गर्न दिएको हो ।’ उनले भनिन ‘हामी चाँडै क्याम्पस सञ्चालन भएको हेर्न चाहन्छौँ, अरू के के गर्न हामीले जग्गा दिएको होइन ।’ निर्माणाधीन क्याम्पसमा खानेपानी, विद्युत्, शौचालय, तार बेरा लगायत आवश्यक पूर्वाधार निर्माणको चरणमा रहेको छ ।

क्वारेनटाइन निर्माणका लागि नजिकै रहेको जाल्पादेवि मावि, जाल्पादेवि क्याम्पस, सिटिइभिटिइको कलेज, नगरपालिकाको नवनिर्मित तयारी भवन र ९२ हेक्टर क्षेत्रफलमा रहेको कृषि अनुसन्धान केन्द्रको सुविधा सम्पन्न भवनहरू छोडेर जबरजस्ती कृषि क्याम्पसमा क्वारेनटाइन बनाउन लागेकाले क्याम्पस सङ्घर्ष समिति बनाएर आन्दोलनमा लागेको सङ्घर्ष समितिका सचिव राजेन्द्र बस्नेतले बताए ।

उनले आफूहरू क्वारेनटाइन निर्माणको विरोधी नभएको र अन्य विकल्प हुँदै कृषि क्याम्पस नै रोज्न गलत भएको बताए । क्याम्पसमा क्वारेनटाइन बनाउँदा निर्माण अवरुद्ध हुने र निर्माण सम्पन्न गरेर क्वारेनटाइन बनाए पनि लकडाउन खुलेपछि शैक्षिक संस्था सञ्चालन हुँदा सोही ठाउँबाट क्याम्पस सञ्चालन हुनुपर्ने आफूहरूको माग रहेको बताए ।

Pakhribas-2