धरान : ग्रामीण क्षेत्रको विकासका लागि पहल गर्ने उद्देश्यले बराहक्षेत्र नगरपालिका–१ को पहाडी भेगका युवाहरुको भेलाले ग्रामीण विकास पहल तथा समन्वय समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा गंगाराम राई चयन भएका छन् । समितिले हाल बराहक्षेत्र १ अन्तर्गत पर्ने साविक बराहक्षेत्र गाविसको वडा नं. ७, ८ र ९का चियावारी, धापा, कटहरे, सूर्यकुन्ड, चौदन्डा, जुगपाख्री, अर्चले, बागदलबारी, चावाचा लगायतका ग्रामीण भेगको विकासमा पहल गर्ने बताइएको छ ।

समितिको उपाध्यक्षमा धनकुमार राई, सचिवमा गोपाल दाहाल, सहसचिवमा कमान सिं राई र कोषाध्यक्षमा कृष्ण भण्डारी चयन भएका छन् । समितिको सदस्यमा हेमकुमार राई, अर्जुन कुलुङ, मुगीलाल तामाङ, लगनसरी राई, तपेन्द्र राई र विनोद विसुंखे रहेका छन् ।

सुर्यकुन्ड आधारभूत विद्यालयमा भएको युवाहरुको भेलाले समिति गठन गरेको हो । भेलामा गोपाल दाहालले ग्रामीण विकासको विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए । समितिले बराहक्षेत्र नगरपालिकालाई ग्रामीण विकासका लागि ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मेयर निलम खनालले गाउँको विकासमा ध्यान दिने बताए ।