इटहरी : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेट नीति तथा कार्यक्रममा तान्त्रिक अध्ययन केन्द्र स्थापना गर्ने योजना समेटेको छ ।
संस्कृति र परम्परालाई जगेर्ना गर्न भन्दै दक्षिण एसियाली तन्त्र, वास्तु तथा ज्योतिष अध्ययन अनुसन्धान केन्द्र सञ्चालन गर्ने बताएको हो । 
आर्थिक मामिला मन्त्री विदुर बहादुर लिङ्थेपले तन्त्र देखि दिर्घरोगिको उपचारमा बजेटलाई केन्द्रित गरेका छन् ।
सामाजिक सुरक्षाअन्तर्गत क्यान्सर लगायतका दीर्घ रोगी, हिंसापीडित तथा ज्येष्ठ नागरिकलाई प्रदेश प्रयोगशालामा गरिने स्वास्थ्य परीक्षण सेवामा ९० प्रतिशत शुल्क छुट प्रदान गरिने भएको छ । 
सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई केन्द्रमा राखेर सक्षम छोरी कार्यक्रम सञ्चालन गरिने मन्त्री लिङ्थेपले बताए । उनका अनुसार कार्यक्रमबाट प्रदेशभरका करिब २ लाख ७५ हजार छात्रा प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । 
छात्राहरूको शैक्षिक अवस्था सुधार, विद्यालय छाड्ने दर घटाउने तथा उनीहरूलाई शिक्षामा निरन्तर जोडिराख्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । शिक्षा क्षेत्रको आधुनिकीकरणलाई पनि प्राथमिकतामा राख्दै सरकारले प्रदेशका १०० वटा सामुदायिक विद्यालयमा डिजिटल बोर्ड जडान गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।