धरान : धरान उपमहानगरपालिकाको असार १० गते स्थगित भएको सातौँ नगर सभा भोलि हुने भनिएकोमा नगर सभा हुने नहुने अन्योल भएको छ ।

असार १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा सुरु भएको नगर सभा असार २६ गने पुनः हुनेगरी स्थगित गरिएको थियो । त्यति खेर प्रस्तुत भएको नीति तथा कार्यक्रमको बारेमा छलफल गरेर २६ गतेको नगर सभामा प्रस्तुत हुने भनिएकोमा आज अहिले सम्म नगर सभा पूर्व बस्नुपर्ने कार्यपालिका सदस्यहरूको बैठक अझै बस्ने टुङ्गो लागेको छैन ।

यसबारेमा मेयर तिलक राईले अहिले धरान उपमहानगरपालिकामा आन्तरिक छलफल भइरहेको र भरै साँझ वा भोलि बिहान सम्ममा कार्यपालिका बैठक बस्ने तयारी भइरहेको बताएका छन् ।

तर यता नेकपा पक्षका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको भने नेकपाको पार्टी कार्यालयमा संसदीय दलको बैठक बस्ने तयारी भइरहेको छ । १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार नगर सभा पूर्व नीतिगत हिसाबले पनि कार्यपालिका बैठक अनिवार्य छ । तर भोलि, अस्ति स्थगित नगर सभा हुने भनिएकोमा अहिले सम्म कार्यपालिका बैठकका लागि बोलाइएको छैन । कार्यपालिका बैठकको बारेमा आफूलाई थाहा नभएको बताए ।

वडामा पठाईएका बजेट सिलिङबारेमा पनि छलफल नभएकोले नगर सभाको लागि खासै तयारी भए जस्तो नलागेको अर्का धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए । नगरसभानै पो स्थगित हुदैछ रे भन्ने हल्ला छ ,त्यसैले अहिले नेकपा धरानको संसदीय दलको बैठक पार्टी कार्यालयमा बसेर निर्णय गर्ने वडाध्यक्ष काफ्ले र कटुवालले बताए । संसदीय दलले जे निर्णय गर्छ त्यही अनुसार आफूहरू अघि बढ्ने नेकपा पक्षका कार्यपालिका सदस्यहरूले बताएका छन् ।

स्थगित नगर सभाको बारेमा धरान उपमहानगरपालिकामा व्यापक छलफल भइरहेको र भरै या भोलि बिहान सम्ममा कार्यपालिका बैठक बस्ने र नगर सभाको बारेमा समय तोक्ने बताइएको छ । भोलि हुन सकेन भने पर्सिको लागि पनि नगर सभा सर्न सक्ने धरान उपमहानगरपालिकाले जनाएको छ ।