धरान : बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यमा भएको सहकारीको वार्षिक साधारण सभामा आर्थिक वर्ष ०७६÷०७७ मा खुद मुनाफा २ करोड ४८ लाख ७९ हजार ५ सय २ रुपैयाँ गरेको जनाइएको छ । २०६६ भदौ २१ गते स्थापना भएको बराह सहकारीको शेयर रकम २०७७ असार मसान्त सम्म आइपुग्दा ९ करोड ३९ लाख ८६ हजार पुगेको छ ।

सहकारी स्थापना हुँदा १४ महिला र १८ पुरुष गरी ३२ जना शेयर सदस्य रहेकोमा अहिले ३ हजार १ सय १२ महिला र १ हजार ६ सय ४३ पुरुष गरी कुल ४ हजार ७ सय ५५ सदस्यहरू रहेका छन् ।

८३ करोड १७ लाख १ हजार २ सय ६७ रुपैयाँ निक्षेप सङ्कलन भएको छ भने ८३ करोड २० लाख ५९ हजार ९ सय ३५ रुपैयाँ ऋण लगानी भएको बराह बचत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मानबहादुर विश्वकर्माद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जगेडा कोषमा २ करोड ७ लाख १९ हजार १ सय ५४ रुपैयाँ रहेको पनि उल्लेख गरिएको छ । साथै, बराह सहकारीले यस आर्थिक वर्ष २०७६÷०७७ को १५ प्रतिशतले लाभांश बाँड्ने पनि जनाएको छ ।

संस्थाले शारीरिकरुपमा भिन्न क्षमता भएका व्यक्तिलाई तीन पाङ्ग्रे स्कुटर वितरण, शेयर सदस्य र कर्मचारीहरूको लागि सम्मान र पुरस्कार वितरण, कर्मचारीहरूको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता जस्ता कार्यक्रम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसै गरी बराह सहकारीले आगामी दिनमा एटिएम, मोबाइल बैङ्किङ, एसएमएस सेवा, ई बैङ्किङ लगायतको सुविधाहरू पनि अघि बढाउने योजना बनाएको जनाइएको छ । सहकारीको कार्यक्षेत्र भित्र सेवा नपुगेको क्षेत्रमा सेवा केन्द्र विस्तार गर्ने र मोबाइल काउन्टरको व्यवस्था गर्ने पनि जनाएको छ ।

शेयर सदस्यहरुबाट सञ्चालित साना उद्योग, परम्परागत पेसा व्यवसायमा लगानी प्रवर्द्धन गर्ने पनि सहकारीले नीति लिएको छ । ’शेयर सदस्यहरूबाट सञ्चालित अर्ग्यानिक खेती एवम् कृषि उपज उत्पादनलाई प्राथमिकतामा राखी लगानी प्रवर्द्धन गरिने छ, ।

कोभिड-१९ को महामारीको बेलामा धरान उपमहानगरपालिकाबाट स्थापित फूड बैङ्कमा संस्था एवम् कर्मचारीहरूको तर्फबाट आर्थिक सहयोग एवम् स्वास्थ्य सम्बन्धी सामाग्रीहरू उपलब्ध गराई मानवीय सहयोग पनि बराहले गरेको थियो ।

सहकारीको शेयर तथा निक्षेप वृद्धि गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरी शेयर सदस्यको आवधिक र नियमित, बचत अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कार्यक्रम अगाडि बढाइने पनि बताइएको छ ।

संस्थाले आफ्नै जग्गा खरिद एवम् भवन निर्माण गरी आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गर्न प्रचलित सहकारी ऐन नियम बमोजिम प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । सहकारी ऐन २०७४, नियमावली २०७५, सङ्घ, प्रदेश, स्थानीय तहका ऐन नियम कानुन अनुरूप संस्थाको विनियम, नियमावलीहरुलाई संशोधन गरी लागू गरिने पनि जनाएको छ ।

आगामी दिनहरूमा प्राकृतिक प्रकोप, कोरोना भाइरस जस्ता महामारी रोग र अन्य चुनौतीहरूको सामना गर्न आवश्यक तयारी गर्दै संस्थालाई अझ व्यवस्थित रूपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता पनि सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले जनाएका छन् ।