सङ्खुवासभा : प्रचण्ड-माधव समूहका नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सिङ्गो देशलाई आगो लगाएको आरोप लगाएका छन् ।

उनले आगो लगाउने अधिकार प्रधानमन्त्रीलाई नभएको दाबी गरे । प्रचण्ड-माधव समूहको नेकपा सङ्खुवासभाले शनिवार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै नेपालले जनता र समाजवाद सत्तामा पुगेर ओलीले बिर्सिएर मनपरी गर्न थालेको बताए ।

नेपालले ओलीले प्रधानमन्त्रीको गरिमा राख्न नसकी धज्जी उडाएको पनि बताए । ओलीको गफ र उखानटुक्काले मात्रै देश चल्न नसक्ने बताउँदै उनलाई ‘हिटलर’ को उपमा दिए ।

नेता नेपालले स्थिरताबाट देश बचाउन आफूहरू सडकमा आउनुपरेको उल्लेख गरे । उनले आफूलाई सर्वोच्च अदालत र निर्वाचन आयोग माथि पुरै विश्वास रहेको बताए ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको नेकपाले त्यसैलाई जोड दिएको पनि उनले बताए ।

जनसभालाई सम्बोधन गर्दै नेकपाका अर्का नेता बर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे ।

उनले हुँदा हुँदैको दुई तिहाइ मासेर दुई तिहाइका लागि प्रतिनिधिसभा भङ्ग गरेको भन्नु लज्जाको विषय भएको उल्लेख गरे । उनले सर्वोच्च अदालतको निर्णय पर्खेर बसेको बताए । सभालाई रामकुमारी झाँक्री, राम कार्की, परशुराम मेघी गुरुङ लगायतले सम्बोधन गरेका थिए ।