इटहरी : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ मा लक्ष्मी खतिवडाको उम्मेदवारीले हलचल ल्याएको छ। संस्थापन पक्षबाट क्षेत्रीय सभापतिको उम्मेदवार रहेका तिलक राई पछि हटेर खतिवडाले उम्मेदवारी दिएपछि काँग्रेसमा तरङ्ग आएको हो ।

खतिवडाको उम्मेदवारीलाई लिएर चौतर्फी चर्चा सुरु भएको छ । तिलक राईले अन्तिम समयमा उम्मेदवार नहुने जानकारी गराएपछि खतिवडाले टिमलाई साथ दिएकी छिन् । प्रदेश निर्वाचन क्षेत्रको मत परिणाम अनुसार संस्थापन शेरबहादुर देउवा समूह कमजोर रहे पनि उनले उम्मेदवारी दिने आँट गरेकी हुन् । त्यससँगै तिलक राईको उम्मेदवारी असन्तुष्ट रहेका पूर्व नगर सभापति किशोर राईले संस्थापन पक्षलाई समर्थन गर्ने देखिएको छ ।

आफ्नो उम्मेदवारी बारे प्रष्ट पार्दै खतिवडाले हार्न डराउनले जित्न पनि नसक्ने बताएकी छिन् । कपुरी न्युज सँग कुरा गर्दै उनले बिना तयारी अकस्मात् उम्मेदवार भए पनि कार्यकर्ताले माया गरेर मत दिने बताइन । आफू टिमको तर्फबाट बाध्यात्मक उम्मेदवार भएको उनको भनाई छ । समूहकोबाट मैदान खाली गर्नुभन्दा उम्मेदवारी दिएर भिड्ने सङ्कल्प गरेको उनले प्रष्ट पारिन् ।

'सुनसरी १ मा कुन समूह कमजोर वा बलियो भन्दा पनि पार्टी आफै कमजोर भएको क्षेत्र हो । यसलाई कसरी शक्तिशाली बनाउने भन्नेमा मेरो ध्यान केन्द्रित भएको छ ।' उनले भनिन्, “अहिले मेरो टिम कमजोर होला तर मेरो उम्मेदवारी शक्तिशाली छ । मैले उम्मेदवारी दिएकै कारण धेरै इमान्दार कार्यकर्ताको शिर ठाडो भएको । गर्वले छाती फुलेको छ । महिला, दलित र युवा कार्यकर्ताहरूमा ऊर्जा थपिएको मैले पाएको छु । यही नै मेरो पहिलो जित हो । निर्वाचनको विजय मेरो दोस्रो जित हुनेछ ।”

एक थरी मान्छे सत्तामा रहने र अर्का थरी मान्छे बाहिर हुने पुरानै प्रक्रियाले सुनसरी १ का काँग्रेस कमजोर भएको उनको बुझाई छ । आफ्नो उम्मेदवारीले लामो सङ्घर्ष गरेका पाका काँग्रेसीको मुहारमा खुसी ल्याएको उनले बताइन ।

प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको परिणाम पछि क्षेत्रीय अधिवेशनको जोड घटाउ सुरु भएपछि तिलक राई पछि हटेका हुन् । संस्थापन पक्ष निक्कै कमजोर देखिएको कारण उनले राईले उम्मेदवार नहुने जानकारी गराएका थिए ।

पहिला फाइनल उम्मेदवार घोषणा गरेका पूर्ण सुवेदीलाई ब्याक गराएर तिलक राईलाई उम्मेदवार बनाइएको थियो । मंगलबार हुने निर्वाचनमा संस्थापन पक्षकी उम्मेदवार खतिवडा र इतर पक्षका सुजेन्द्र तामाङबिच प्रतिस्पर्धा हुने भएको छ ।