वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड ४३ लाख ६६ हजार ३८१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधवार सम्पन्न १८औँ नगर सभामा उपप्रमुख नन्दकुमारी सुनुवारले बजेट प्रस्तुत गरेकी हुन्।
नगर प्रमुख रमेश कार्की ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। नगरपालिकाले प्राविधिक शिक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यक्रम, शिक्षक प्रशिक्षण तथा दिगो भौतिक संरचना निर्माणलाई अगाडि बढाउने जनाएको छ।
स्वास्थ्य क्षेत्रतर्फ निःशुल्क शव वाहन सेवा, विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सुविधा, गर्भवती तथा सुत्केरी महिलाका लागि एम्बुलेन्स खर्च सहयोग, स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन तथा आर्थिक रूपमा कमजोर परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। प्रत्येक वडामा स्वास्थ्यकर्मी व्यवस्थापन गर्दै ज्येष्ठ नागरिक र दीर्घ रोगीको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने नीति लिइएको छ। नसर्ने रोगको पहिचान तथा उपचारका लागि घुम्ती शिविर सञ्चालन गरिनेछ।
शिक्षा क्षेत्रमा “वराहक्षेत्र नगरपालिकाको इच्छा, छोरी–बुहारीलाई शिक्षा” अभियानलाई निरन्तरता दिँदै स्नातक तहमा अध्ययनरत छोरीहरूलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। प्राविधिक शिक्षामा अध्ययनरत गरिब, विपन्न तथा अल्पसङ्ख्यक समुदाय विशेष गरी मुसहर र ऋषिदेव समुदायका छात्राहरूलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ। उपचारात्मक कक्षा, अभिभावक शिक्षा कार्यक्रम, विज्ञान तथा प्रविधि शिक्षाको विस्तार र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।
कृषि क्षेत्रमा नदी उकास जग्गामा सामूहिक खेती, अर्ग्यानिक कृषि उत्पादन प्रवर्द्धन, कृषि औजार अनुदान, कृषि बीमा, पशुपालनमा नश्ल सुधार, दुग्ध उत्पादन तथा विविधीकरण, माछा पालन प्रवर्द्धन, कृत्रिम गर्भाधान सेवा र भेटेरिनरी अस्पताल निर्माणका कार्यक्रम समावेश गरिएका छन्। पशु महामारी फैलिएको अवस्थामा विज्ञहरूको रेस्पोन्स टिम परिचालन गरिने जनाइएको छ।
पर्यटन प्रवर्द्धनका लागि कोशी किनार क्षेत्रमा पर्यटकीय गतिविधि विस्तार, कोका खोलाको पानी ब्रान्डिङका लागि आवश्यक अध्ययन तथा गुप्तवराहधामको पहुँच विस्तार गर्न मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने नीति नगरपालिकाले अघि सारेको छ। साथै मुन्दुम ट्रेल प्रवर्द्धन, “धरतीको पहिलो तीर्थ वराहक्षेत्र जाऔँ” अभियान, कोशी पर्यटन वर्षलाई सफल बनाउने कार्यक्रम तथा वराहक्षेत्र–धरान–इटहरीलाई धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
श्रीलङ्का टप्पुमा होमस्टे सञ्चालन, चतरास्थित कोशी किनारमा सन्ध्या आरती सुरु गर्ने, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र पर्यटनमैत्री सेवा विकासका कार्यक्रम पनि समावेश गरिएका छन्।
नगरपालिकाले अव्यवस्थित बसोबासी, सुकुम्वासी तथा भूमिहीन दलितलाई लालपुर्जा वितरणका लागि पहल गर्ने, कोशी कटान नियन्त्रण, जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरण तथा नगरपालिकाबाटै भूमि प्रशासन सेवा सञ्चालन गर्ने नीति लिएको छ। अधुरा तथा क्रमागत आयोजनालाई प्राथमिकता दिँदै शहरी तथा ग्रामीण सडक सञ्जाल विस्तार गरिने जनाइएको छ।
आयतर्फ
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ करोड १४ लाख ८१ हजार रुपैयाँ आन्तरिक आयको लक्ष्य राखेको छ। सङ्घीय सरकारबाट प्राप्त हुने ४८ करोड २८ लाख रुपैयाँ सशर्त अनुदान तथा १९ करोड ५५ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान बजेटका मुख्य स्रोत रहेका छन्।
त्यस्तै सङ्घीय राजस्व बाँडफाँडबाट १६ करोड ५५ लाख ४३ हजार रुपैयाँ, सङ्घीय समपूरक अनुदान १ करोड ८९ लाख रुपैयाँ, प्रदेश सशर्त अनुदान ३ करोड ५१ लाख ८४ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँड १ करोड २३ लाख ८८ हजार रुपैयाँ, सङ्घीय विशेष अनुदान १ करोड ६४ लाख रुपैयाँ, प्रदेश समपूरक अनुदान ८० लाख रुपैयाँ, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड ८१ लाख ७० हजार रुपैयाँ तथा घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त हुने स्थानीय राजस्व बाँडफाँड ३ करोड रुपैयाँ आयको स्रोतका रूपमा अनुमान गरिएको छ।
खर्चतर्फ
चालु खर्च १७ करोड २० लाख रुपैयाँ, वडा कार्यालयतर्फको पुँजीगत बजेट ११ करोड रुपैयाँ, नगर स्तरीय पुँजीगत बजेट १९ करोड ९ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ। सङ्घीय सशर्त अनुदान ४८ करोड २८ लाख रुपैयाँ, प्रदेश सशर्त अनुदान ३ करोड ५१ लाख ८४ हजार रुपैयाँ, प्रदेश समपूरक अनुदान ८० लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदान १ करोड ८९ लाख रुपैयाँ तथा सङ्घीय विशेष अनुदान ७५ लाख रुपैयाँ खर्च शीर्षकमा समावेश गरिएको छ।
नगर सभामा आर्थिक विकास समितिका संयोजक तेजबहादुर गुरुङ ले आर्थिक विधेयक–२०८३ र विनियोजन विधेयक–२०८३ पेश गरेका छन्। प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि शुक्रवार छलफल गरिने जनाइएको छ।
नगर सभा उद्घाटन समारोहमा ११ जना ज्येष्ठ नागरिक, कृषक, सहकारीकर्मी, खेलाडी, पत्रकार, शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा रामप्रसाद मेहता, विशिष्ट अतिथिका रूपमा सदानन्द मण्डल तथा ममता तामाङ सहभागी थिए। स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि ले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सूचना प्रविधि अधिकृत पुकार पोखरेल ले गरेका थिए।