इटहरी : नेकपा एमालेका कुशल संगठक मानिएका रामप्रसाद चौलागाई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
दुई महिना अगाडी एमाले परित्यागको घोषणा गरेका उनी इटहरी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्नेगरि श्रम संस्कृतिमा प्रवेश गरेका हुन् ।
बुधवार सामाजिक सञ्जाल फेसबुकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सँगको फोटो पोष्टगर्दै चौलागाईले पार्टी सदस्यता र टिसर्ट लिएको उल्लेख गरेका छन् ।
यसअघि २०८३ जेठ १ गतेबाट एमाले पार्टीको यात्रा बिसाएको उल्लेख गरेका उनले लामो तयारी पछि साम्पाङको पार्टीमा छिरेका हुन् । हर्क साम्पाङको देश निर्माणको अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै उनले सबैलाई जोडिन आग्रह समेत गरे ।
एमालेबाट तीन कार्यकाल इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष चलाएका उनी २०७४ र २०७९ मा मेयर पदको आकाङ्क्षी थिए । एमालेले टिकट नदिएपछि उनले आक्रोश व्यक्त गर्दै नेतृत्व प्रति असन्तुष्टि जनाए ।
आगामी २०८४ को निर्वाचनमा पनि मेयरकै आकाङ्क्षी रहेका उनी श्रम संस्कृतिबाट उम्मेदवार बन्ने तयारीमा छन् ।






































































