धरान : चोरी गरेको मोटरसाइकल सहित सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मङ्सिर २ गते राति इटहरी उपमहानगरपालिका ५ मा राजेन्द्र प्रसाद ढुङ्गानाले आफ्नै घर अगाडी पार्किङ गरी राखेको बा ९४ प ९९२६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल हराएको इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराए पछि खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय रानी मोरङको सहयोगमा मोरङ विराटनगर महानगरपालिका वडा नं.१५ भन्सार कार्यालयको १ नम्बर ढाट नजिकबाट मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेमा धरान–११ घर भई हाल इटहरी-५ जनता बस्ती डेरा गरी बस्ने वर्ष २४ को समीर परियारलाई मोटरसाइकल सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा चोरी कार्यमा संलग्न अर्का एक जना इटहरी–३ तालतलैया बस्ने वर्ष १९ को राजेश खड्का समेत रहेको खुल्न आएका छ ।

दुवै जनालाई पक्राउ गरी उनीहरू उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्याद थप भई अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।