धरान (डेस्क) : बीबीए कपको उपाधि धरानको महेन्द्र बहुमुखी क्याम्पसले जितेको छ । आज (सोमबार) भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत भएको फाइनल खेलमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयलाई टाईब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै महेन्द्र बहुमुखी क्याम्पस धरानले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता सैनिकले नगद ३५ हजार रुपैयाँ पाएको छ ।

९० औं मिनेटको निर्धाारित खेल एक/एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत खेलको नतिजा निकालिएको हो । जसमा सैनिकले पहिलो पेनाल्टी प्रहार गर्न आएका करण श्रेष्ठ गोल गर्न असफल भएपछि सैनिक उपाधिबाट बञ्चित हुन परेको हो । सैनिकको पहिलो पेनाल्टी प्रहार रोकेका महेन्द्र बहुमुखीका गोलरक्षक रोहित भुजेल उत्कृष्ट गोलरक्षक बन्न सफल भए । त्यस्तै महेन्द्रकै सन्दीप गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा पदमबहादुर विष्ट उत्कृष्ट मिडफिल्डर घोषित भए ।

सैनिकका नविन थापा उत्कृष्ट डिफेन्डर र औसत थापा उत्कृष्ट स्ट्राइकर बनेर पुरस्कृत भए । सर्वाधिक गोलकर्तामा पिपल्स क्याम्पसका धीरज केसी बने । उनले प्रतियोगिताभर १० गोल गरे । अनुशासित टीमको पुरस्कार भने के एण्ड के कलेजले हात पारे ।

Mahendra

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्ने देशभरका २३ कलेजहरुको सहभागिता रहेको प्रतियोगिताका विजेता र उपविजेता कलेज तथा उत्कृष्ट खेलाडीहरुलाई भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा. कृष्णप्रसाद पोखरेलले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको नियमानुसार जसले उपाधि जित्छ सोही क्याम्पसले प्रतियोगिताको आयोजना गर्नुपर्छ । अर्को पटकको प्रतियोगिता आयोजना गर्ने जिम्मा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई परेको छ ।