धरान : कवि विमल गुरुङको जन्मजयन्तीको अवसरमा हरेक बर्ष कार्तिक १९ गते आयोजना हुदै आएको राष्ट्रिय युवा कविता महोत्सव यो बर्ष मंसिरमा हुने भएको छ ।
यो बर्ष प्रतियोगितात्मक कविता महोत्सव मंसिर २२ गते आयोजना गरिने कवि विमल गुरुङ स्मृति पुस्तकालयले जनाएको छ । कार्तिक १९ गते नेपालीहरुको चाड तिहार पर्ने भएकोले महोत्सव आयोजनाको मिति सार्नुपरेको पुस्तकालयका सचिव चेवन राईले जानकारी दिए । ‘कविताहरु आजैको मितिदेखि पठाउन आह्वान गर्ने र प्रतियोगी कविताहरु कार्तिक मसान्तसम्म आइपुग्नु पर्ने निर्णय भएको छ,’वैठक पछि सचिव राईले भने ।
प्रतियोगितात्मक कविता महोत्सवमा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले नगद १५ हजार र तेस्रो हुनेले नगद १० हजार पुरस्कार तथा प्रमाणपत्र पाउनेछन् । कविता महोत्सव धरान १८ स्थित विमल स्मृति पुस्तकालयको हालमा हुनेछ । करिब १९ बर्षको कलिलो उमेरमा दुर्घटनामा परी निधन भएका कवि विमलको स्मृतिमा उनको बुबा आमाले पुस्तकालय स्थापना गरिदिएका हुन् ।