सिया इस्लामिक गणतन्त्रका धार्मिक अगुवा इमाम हुसेनलाई ‘अपमान’ गरी लेखेकोे आरोपमा एक पत्रकारलाई पक्राउ गर्न इरानको न्यायालयले निर्देशन दिएको इरानी समाचार संस्था मिजानले जनाएको छ ।
धार्मिक नेता इमाम हुसेन र अन्य इमामलाई ‘अपमान’ गरी लेखेकोे आरोपमा पौयान खोशहललाई जेल सजाय सुनाइएको थियो । उनलाई गत बुधबार राति विदेशतर्फ पलायन हुन लाग्दैगर्दा पक्राउ गरिएको इरानी समाचार संस्था मिजान अनलाइनले जनाएको हो ।
इरानको आधिकारिक धार्मिक ग्रन्थअनुसार प्रोफेट मोहम्मदका नाती हुसेनलाई सातौँ शताब्दीमा कालिफ यजिदको इस्लामिक संसारमा राज्य गर्ने अधिकार नभएको भनी विरोध गरेको भन्दै हत्या गरिएको थियो ।
हुसेनको मृत्युको सम्झनामा गरिने बार्षिक कार्यक्रम आसुरालाई इरानी इस्लामिक समूहले पवित्र दिनका रूपमा मनाउने गर्दछन् ।
खोशहलले सुधारवादी समूहको आवाज छाप्ने एब्तेकार दैनिकमा काम गर्ने शिलशिलामा गत अक्टोबरमा प्रकाशित एक लेखमा इमाम हुसेनको इरानीहरूले विश्वास गर्दै आएको शाहदत नभै प्राकृतिक मृत्यु भएको उल्लेख गरेका थिए ।
मिजानका अनुसार उक्त समाचारले इरानभर पत्रकार खोशहलको ‘आलोचना भएको तथा आक्रोश सिर्जना गरेको’ थियो ।
न्यायालयले खोशहलले सामाजिक सञ्जालमार्फत पनि इमामको अपमान गरेको र इरानी जनताबाट ध्यानाकर्षण गराएको साथै यसै आधारमा गरिएको अनुसन्धानमा पत्रकार खोशहल दोषी पाइएको ठहर गर्दै उनलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।
खोशहलको व्यक्तिगत ट्वीटर पेजलाई उहाँको पक्राउपछि नै बन्द गरिएको थियो ।
एब्तेकारका प्रधान सम्पादक रेजा देहकीले आफ्नो पत्रिकामा प्रकाशित सामग्रीमाथिको आलोचनाप्रति क्षमा याचना गर्दै उक्त भनाईलाई संशोधन गरिएको र सो समाचार तयार पार्ने पत्रकार पत्रिकाबाट अलग भइसकेको जनाएका छन् ।
अर्को पत्रकार मिर मोहम्मद हुसेन मिर इस्माइलीलाई सिया धर्मका प्रसिद्ध १० धार्मिक अगुवामध्येका एक इमाम रेजालाई अपमान गरेको अरोपमा अदालतले यही बर्षको अगस्त महिनामा १० बर्षको जेल सजाय तोकेको थियो । उनलाई पनि आरोपपछि देश छाडेर विदेशतर्फ भाग्ने तयारी गरिरहेका अवस्थामा सन् २०१७ मा खोशहललाई जस्तै पक्राउ गरिएको थियो ।
"घटना र विचारबाट साभार गरीएको"