धरान : धरान ३ स्थित पुरानो बजारमा रहेको सुन पसले फरार भएपछि सर्वसाधारणले सुन पसलेको घरमा घेरा हालेका छन् ।
धरान ३ मस्जिद नजिकै रहेको न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गी १ महिना देखि बेपत्ता भएको र पसल पनि नखोलेकोले पसलमा सुन तथा पैसा धितो राखेकाहरूले आफू ठगिएको भन्दै खड्गीको घर केही दिन देखि घेराउ गर्दे आएका छन् ।


आज पनि बिहान देखि खड्गीको घर पीडितले घेरेका छन् ।  पीडितहरूका अनुसार १२ करोड लिएर न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गी फरार भएको दाबी गरेका छन् । यस भन्दा अघि पनि खड्गीको घर घेराउ गरे पछि ३ नम्बर वडाका वडाध्यक्ष आशा कुमार श्रेष्ठ, सदस्य विकास बनेपालि लगायतको समूहले पीडितहरूलाई सम्झाई बुझाई गरेका थिए । यत्तिका दिन सम्म पनि खड्गी नआए पछि उनीहरूले आज पुनः खड्गीको घर घेरा हालेका हुन् ।, खड्गीको बारेमा उनको परिवारले पनि केही बताएको छैन ।

केही दिन अघि परिवारले खोजी गरिपाऊ भनी इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए । उनका अनुसार पीडितबाट उजुरी भने परेको छैन ।