धरान : शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न तेश्रो नेपाल राष्ट्रिय व्यापी शारिरीक सुगठनप्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै ७५ प्लस केजी तौल समुहबाट भिडेका उमेश राई तेस्रो नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । उपाधीसंगै उनले २ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । नेपाल च्याम्पियनको ३ वटै सँस्करणमा ग्यालेक्सी फिटनेसका खेलाडीले उपाधि जितेर ह्याट्रिक गरेको छ ।
एलाइनेट जिम धरानको आयोजनमा भएको प्रतियोगितामा फिट्नेस दाङ, रूपनदेहीका कृष्णप्रसाद श्रेष्ठ दोश्रो बन्दै १ लाख नगद हात पारे । श्रेष्ठ ७५ किलो तौल समुहमा प्रथम बनेका थिए । यता ७० किलोमा पहिलो बनेका बलभैरव जिम ललितपुरका विनोद सुनार तेश्रो बन्दै ५० हजार हात पारे । ६५ केजीबाट फिनिक्स फिटशालाका मनोज सुवेदी चौथो बन्दै ४० हजार, ५५ केजीबाट ड्याजल जिम विराटनगरका प्रविण राजवंशी पाँचौ बन्दै ३० हजार र ६० केजीबाट एरो फिट्नेस, दमका मदनकुमार योङहाङ छैठौ बन्दै २५ हजार हात पारे । उनिहरूले नगद संगै ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।
व्यक्तिगत पुरस्कार अर्न्तगत मस्ट इम्प्रुभिङ खेलाडीको टाइटल भने ५५ केजीका प्रविण श्रेष्ठले हात पार्दै नगद ५ हजार सहित ट्रफी जिते । प्रतियोगितामा बेस्ट पोजर ६५ केजीका खेलाडी बिजेन्द्रमान श्रेष्ठले हात पारे भने ७५ प्लस केजीमा भिडेका खेलाडी सन्जु लामाले इम्प्रुभिङ बडी बिल्डरको टाइटल हात पारे । यस्तै ७५ केजीमा भिडेका सबैभन्दा कम उमेर १७ वर्षका खेलाडी विशाल पौडेललाई प्रोत्साहन स्वरूप प्रमाणपत्र प्रदान गरीएको थियो ।
शनिबार धरानको शभागृहमा सम्पन्न तेश्रो नेपाल च्याम्पियनमा यस वर्ष संगै ग्लालेक्सी फिटनेस, झापाले लगातार तेश्रो पटक उपाधिमा कब्जा जमाउदै ह्याटट्रिक गरेको हो । यस अघि २०७४ सालमा भएको नेपाल च्याम्पियनको पहिलो संस्करणमा रामबहादुर दाहाल र २०७५ को दोश्रो संस्करणमा ललित धामीले उपाधी चुमेका थिए । उनिहरू दुवै ग्यालेक्सीका खेलाडी हुन ।
विजेताहरूलाई एलाइनेट जिमका संचालक विक्रम लिम्बु, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, एन्फाका प्रदेश १ अध्यक्ष किशोर राई, बराह ग्रुप धरानका प्रमुख प्रशासकिय अधिकृत गंगा कालिकोटे लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायकमा शिवलाल श्रेष्ठ थिए । अन्य निर्णायकहरूमा अजय बज्रचार्य, राजेन्द्र तुलाधर, राजभगत प्रधानाङ्ग, रोशन महर्जन, हरी धिमाल, शिजार राजभण्डारी, शिव मुखिया र कबिरभगत प्रधानाङ्ग गरी ९ जना निर्णायक रहेका थिए ।
उमेश राईले यसअघि जितेका उपाधी
उमेश राई यस पटक मात्र बिजेता बनेका हैनन यस अघि पनि निकै उपाधि हात पारेकाछन् ।झापा दमकस्थित ग्यालेक्सी फिटनेसका खेलाडी राईले यसअघि २०७३ सालमा भएको १४ औ मि। धर्मश्रीको ओभरअलमा तेश्रो स्थान हात पारेका थिए । यो संगै २०७५ सालमा उनले काठमाडौमा भएको मि। एभरेस्ट र साउथ एसियन च्याम्पियनसिपमा विजेता बनेका थिए । यो संगै २०७६ सालमा काठमाडौमा भएको मि। हिमालय र २०१८ मा कुवेत क्लासिकको समेत उपाधीमा कब्जा जमाएका हुन । दोश्रो बनेका श्रेष्ठले यस अघि २०७५ सालमा पोखरामा भएको मि। माछापुच्छ्रे र २०७६ सालमा भएको बुटुवल श्रीको उपाधी जितेका थिए ।