धरान : दशैं तिहारको बेला नगद लेनदेन हुने खेल हाउजी, जुवा, तास जस्ता गैरकानुनी गतिविधि प्रतिबन्धित रहेको धरान उपमहानगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।
हाउजी, डाइस, जुवा तथा तासलगायतका जुवाजन्य खेल खेल्ने, खेलाउने र त्यस्ता गतिविधिलाई सहयोग गर्ने कार्य नगर्न नगराउन सार्वजनिक सूचना जारी गरिएको हो ।
उपमहानगरपालिकाको सार्वजनिक सूचनामा धरानका व्यक्ति, व्यवसायी, होटल, रेस्टुरेन्ट, क्लब, सङ्घसंस्था तथा सरोकारवालालाई जुवाजन्य गतिविधि सञ्चालन नगर्न आग्रह गरिएको छ ।
चाडपर्वको बेला धरान नगर क्षेत्रभित्र शान्ति सुरक्षा कायम राख्न, गैरकानुनी गतिविधि नियन्त्रण गर्न जारी सूचनाको उल्लङ्घन गरी हाउजी, डाइस, जुवा, तासलगायतका गतिविधि सञ्चालन गरेको, खेलाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाले बताएका छन् ।











































































