धरान : प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी भीम बहादुर दाहालको सरुवा भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहालको जिल्ला प्रहरी कार्यालय उदयपुर सरुवा भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा तीनबर्षअघि पनि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमै प्रहरी नायव उपरीक्षक (डिएसपी) भएर काम गरेका सञ्जीव शर्मा आउने भएका छन् । सौरभ राणा एसपी रहेका बेला शर्माले एक वर्ष इटहरीमै काम गरेका थिए ।

को हुन एसपी शर्मा ?
करिब दुई वर्षसम्म कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय (सुर्खेत )का प्रमुखका रूपमा कार्यरत एसपी शर्मा विराटनगर निवासी हुन ।

उनी तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा चार वर्ष अघि डिएसपीका रूपमा सरुवा भएर आएका थिए । २०७३ भदौ ३ गते प्रहरी प्रधान कार्यालय नक्सालले एकै पटक एक सय २५ डिएसपीहरूको सरुवा गरेको हो ।

प्रहरी प्रधानकार्यालयले सोही वर्षको भदौ महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूको सरुवा गरिएको जनाएको थियो । डिएसपी शर्मा पनि सोही लटको १ सय ६ औँ नम्बरको सरुवाको सूचीमा परेर इटहरी आएका थिए ।

त्यो बेला क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सरोज पौडेलको जिल्ला प्रहरी कार्यालय बाँके सरुवा भएपछि शर्माको इटहरी सरुवा भएको थियो । इटहरी सरुवा भएर आउनु अघि शर्मा महानगरीय प्रहरी वृत्त काठमाण्डौमा कार्यरत थिए ।