इटहरी : पिपलबोटे स्कुलका शिक्षक चन्द्र भण्डारीले वास्तवमै शिक्षासेवीको पहिचान बनाएका छन् । उनले विगत २७ वर्ष देखी अनवरत निःशुल्क कोचिङ पढाउँदै आएका हुन् ।
उमेरले ६५ कटेका भण्डारीको दैनिकी नै बालबालिका सँगको घुलमिलबाट सुरु हुन्छ । इटहरीको मध्य सहरको पिपलबोटे स्कुलमा भित्री गाउँका बिद्यार्थीहरु पढ्न आउँछन् । राजमार्गकै छेवैमा भएकोले गाडीको हर्नको आवाजले पढाइको माहौल अशान्त बनाइदिन्छ । सडक पेटीमै पढाउनुपर्ने भएकोले ठुला गाडी आवतजावत गर्दा अप्ठ्यारो हुने गरेको भण्डारी बताउँछन् ।
दाह्रीजुंगा आधाआधी फुली सकेका उनको साना बालबालिका सँग खेल्ने बोल्न अभिलाषा भने अझै पाको भएको छैन । पहिला बनाएको छाप्रो नगरपालिकाले भत्काइदिए पछि बर्खामा झरी र हिउँदमा सित लहरले समस्या दिने गरेको उनी सुनाउँछन् । जनप्रतिनिधीहरु बारम्बार कुरा गर्दा समेत केही सुनुवाइ नभएको उनको भनाई छ ।
हिजो कुटी बाट सुरु भएको शिक्षा हाल अधुनीक विश्वविद्यालय रूपान्तरण भइसकेको छ । गाउँका विद्यार्थी सहरमा, सहरका विद्यार्थी महँगा बोर्डीङ्ग स्कुलमा छन् । प्रविधिले शैक्षिक क्षेत्रका छलाङ हानी सकेको छ । तर पिपलबोट खुल्ला विद्यालय भने परम्परागत शिक्षामै केन्द्रित छ ।
‘गरिबका छोराछोरी पैसा तिरेर ट्युसन कोचिङ पढ्न सक्दैनन् ।,’उनी भन्छन् ‘यो काम कसैले गर्नै पर्थ्यो त्यसैले मैले गरेको हुँ । कम्तीमा गरिब जनताका छोराछोरीले सित्तैमा पढ्न त पाए ।’ ‘गाउँका बालबालिकालाई सरकारले विभिन्न कोटा दिन्छ । सहरमा बस्ने सबैलाई सम्पन्न नै भनेर सरकारले एउटै आँखाले हेरी रहेको छ ।,’ उनले भने ‘तर सहरमा भाडामा र खोला किनारमा बस्ने गरिब जनताका छोराछोरीहरू गुणस्तरीय शिक्षा बाट वञ्चित भइरहेका छन् । साना बालबालिकाहरू धूलोमा खेलिरहेको देखेपछि उनलाई केही गर्नुपर्छ भन्ने लाग्यो । मनमनै असहज महसुस भयो । यसैले आफ्नो सहजता र आनन्दताको लागी विद्यार्थी भेला पारेर पढाउन सुरु गरेको हुँ ।’
भण्डारी आफैले पनि औपचारिक शिक्षाका रूपमा उच्चशिक्षा हासिल गरेका छैनन् । तर उनमा आफ्नो दक्षता र क्षमताले भ्याए सम्मको पढाइरहेका छन् । पैसा अभावले बिचमै पढाइ छाड्नुपर्ने बाध्यतामा परेका उनले अभावलाई राम्ररी नियालेका छन् । आफ्नो हेडमास्टर बन्ने सपना पुरा नभए पछि उनी सडकमै बालबालिका पढाउन थालेका हुन् । अहिले पिपलबोटे खुल्ला विद्यालयको फाउन्डर देखी हेडमास्टर सम्म उनी आफै भएका छन् ।
गरिबका छोराछोरी लाई वास्ता गरिएन भने समाजमा नकारात्मक असर पर्ने उनको तर्क छ । ‘खाली समयमा नकारात्मक सोच्छन् । पछि त्यही बाटो समाउँछन् । कम्तीमा मैले दिनको दुई घण्टा समय दिएँ भने त्यो समस्या टर्छ ।,’ उनी भन्छन्, ‘मलाई नदेखी अन्धो हुने सँग भन्दा देखेर अन्धो हुने हरुले समाज बिगारी रहेको जस्तो लाग्छ ।’
उनले पढाएका धेरै विद्यार्थी अहिले अमेरिका, अष्ट्ेलिया पुगेका छन् । उनी पनि त्यसैमा दङ्ग पर्छन् । कहिले कही विभिन्न सङ्घ संस्थाले गरेको सम्मानले उनलाई पुलकित बनाउँछ । विद्यार्थीलाई पनि कपि कलम लिएर आउँछन् तिनै संस्थाहरू । जसले आफूमा ऊर्जा प्राप्त हुने गरेको उनको अनुभव छ ।