धरान : धरान उपमहानगरपालिमा तत्कालीन प्रमुख हर्क साम्पाङले ‘मेयरको भिजन’ ‘उपमेयरको भिजन’ नाम दिएर ठुलठुला बजेट बनाए । ती भिजनको बजेट खर्च भैसकेर महालेखाको टिप्पणी सार्वजनिक भएपछि मेयर र उपमेयर सामाजिक सञ्जालमा अनभिज्ञता प्रकट गरिरहेका छन् ।
‘भिजनवाला मेयर’ साबुन र बेसार उद्योग किन नचलाएको भनी प्रश्न गरिरहेका छन् भने हाल कार्यवाहक मेयर ती उद्योगहरूबारे उपमहानगरपालिका जानकार छैन भनिरहेका छन् । पचासौँ लाख ती खर्च बजेटको भिजन कोषबाट भएको थियो ।   
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट मस्यौदामा जुटेको कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले आइतवार पत्रकारहरूसँग भने ‘वास्तव भिजनवाला बजेटले कुनै उपलब्धि देखाउन सकेन ।’ अब एकल सोच भन्दा अलग यथार्थवादी र धरानको विकासमा दीर्घकालीन भूमिका दिने बजेट बनाउने तयारी सुरु गरिएको उनले बताए ।
बेघाले राजनीतिक दलका नेतृत्वहरू, सामाजिक क्षेत्रमा अगुवाहरू, अर्थशास्त्री, बुद्धिजीवीहरूसँग  पूर्व बजेट छलफल जारी राखेका छन् । उपमहानगरपालिकाको सके अन्तिम बजेट बनाउन कार्यवाहक बेघा स्वतन्त्र छन् । उनले बनाउने बजेटमा मेयर, उपमेयरको भिजन नभई धरानवासीको भिजन हुने उनको भनाई छ ।
पत्रकारहरुसंगको छलफलमा कार्यवाहक प्रमुख बेघाले भने ‘अहिले सम्म यथार्थवादी बजेटको खाका राम्ररी नै तयार भइरहेको छ ।’ जब योजना र विनियोजनका विषयमा प्रवेश हुन्छ तब बजेटको उद्देश्य, सिद्धान्त साँघुरिँदै जाने उनले बताए । 
उनले बजेटको मूल मर्म धरानवासीको आवश्यकता र जनताको मागमा अन्तर्निहित हुने भएको योजनाहरू उपभोक्ताहरूको माग अनुसार बजेटमा समावेश हुने गरेको बताए । यस कारण पनि बजेटमा योजनाको आकार र रकमहरू एकै ठाउँमा केन्द्रित गर्न कठिन हुने उनको भनाई थियो । पत्रकारहरूले उनलाई टुक्रे योजनाहरूमा भन्दा गतिलो योजनामा बजेट केन्द्रित गर्न सुझाव दिएका थिए ।
कार्यवाहक प्रमुख बेघाले उपमहानगरपालिकाको चालु वर्षको आर्थिक अवस्थाले विगतका घाटा बजेट शोधभर्ना गर्दा आगामी बजेटमा ६० करोड रुपैयाँ न्यून रहने बताए । उनले भने ‘अहिले हामी वास्तविक आम्दानी र उपलब्ध साधन स्रोतका आधारमा निर्भर बजेट बनाउने तयारीमा छौँ ।’
धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च करिब २१ प्रतिशत मात्रै भएको छ । नगर सभा ढिलो हुनु, जेनजी आन्दोलन, चाडपर्व तथा निर्वाचनलगायतका कारण चालु खर्च बढ्न नसकेको हो । बेघाले भने ‘आर्थिक वर्ष सकिदा सम्म पुँजीगत खर्च ५० प्रतिशत सम्म पुग्न सक्छ ।’
वरिष्ठ राजस्व अधिकृत खगेन्द्र खतिवडाले सङ्घीय र प्रदेश सरकारको समानीकरण अनुदान मध्ये मूल्य अभिवृद्धि कर भ्याट लक्ष्यको ७७ दशमलब ८ प्रतिशत, अन्तःशुल्क लक्ष्यभन्दा बढी १०९दशमलब ४९ प्रतिशत सङ्कलन भएको बताए ।
उनका अनुसार तर उपमहानगरपालिकाको चालु आर्थिक वर्षमा आन्तरिक स्रोत ८९ करोड ५४ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्यमा हालसम्म ३३ करोड १७ लाख रुपैयाँ ३७ दशमलब ०४ प्रतिशत मात्र सङ्कलन भएको छ ।
छलफलमा पत्रकारहरूले सञ्चारको क्षेत्रमा आफ्नै योजना कार्यक्रम सञ्चालन गर्न, नेपाल पत्रकार महासङ्घ सँगको सहकार्यका लागि उपमहानगरपालिकाले यसपालीको बजेट सेसनमै स्थानीय सञ्चार ऐन निर्माण गर्नु पर्ने माग गरेका छन् ।
उनीहरूले लोक कल्याणकारी विज्ञापनको लागि चालु आर्थिक वर्षमा छुटिएको रकम स्थानीय मिडियाहरूले वितरण गर्न आग्रह पनि गरे । कार्यवाहक प्रमुख बेघाले सङ्घीय सरकारको निर्देशनात्मक परिपत्रका कारण तत्काल कल्याणकारी विज्ञापनको भुक्तानी गर्न नसके पनि विनियोजित बजेट मिडियाकै सशक्तीकरणको कार्यक्रममा खर्च गरिने प्रतिबद्धता जनाए ।
छलफलमा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष  काफ्ले, वरिष्ठ पत्रकार हर्ष सुब्बा, भोजराज श्रेष्ठ, मातृका नेपाल, रोहित राई कुलुङ, खिलानाथ विश्वकर्मा, डेबिट बस्नेत, नवराज विष्ट, निमा पोङस्युवा मनिता चाम्लिङ लगायतले सुझाव दिएका थिए ।