- प्रदीप मेन्याङबो
याक्थुङ लिम्बू समुदायको ऐतिहासिक पुरातात्त्विक क्षेत्र मानिएको धरानको विजयपुरको पञ्चकन्या जङ्गलस्थित समाधीस्थलमा रहेका पुराना चिहानहरू कसले भत्कायो ? अहिले धरानमा यही विषयले चर्चा पाइरहेको छ । धरान-१४मा पर्ने विजयपुर याक्थुम लिम्बू समुदायको इतिहाससँग प्रत्यक्ष जोडिने भएकाले त्यहाँ रहेका पुराना चिहान भत्काइएपछि चासो र चर्चाको विषय बनेको हो ।
बैशाखे पूर्णिमा अघि त्यहाँका चिहानहरू नभत्काइएको अवस्थामा थिए । तर वैशाखे पूर्णिमापछि पञ्चकन्या जङ्गलमा रहेका सयौँ चिहान मध्ये दुई दर्जन चिहानहरू भत्काउँदै चिहान माथि गाडिएको ढुङ्गाहरू फालिदिएको र समथर बनाइएको भेटिएपछि धरानमा चिहान खन्ने समूह सक्रिय रहेको आशङ्का गरिएको छ । विजयपुरको उक्त समाधीस्थलमा लिम्बू समुदायका खेवा, जवेगु, थेगिम, देवाहाङ, खजुम, कन्दङवा र चौबिसे लिम्बूहरूको सय वर्ष भन्दा पुराना चिहानहरू रहेका छन् ।
उक्त पञ्चकन्या जङ्गल क्षेत्रमा करिब पाँच सयबढी चिहानहरू रहेको अनुमान गरिएको युवा अभियन्ता अमित थेबेले बताएका छन् । हालको हाङ्युक्ना दरबार (विजयपुर गढी) को आसपासका दुई दर्जन चिहानहरू भत्काइएको अवस्थामा पाइएपछि किन र कसको निर्देशनले त्यहाँका पुराना चिहानहरू भत्काइयो भनेर व्यापक चर्चा हुन थालेको छ । कतिपयले उक्त क्षेत्रमा लिम्बू समुदायका सयबर्ष भन्दा पुराना चिहानहरू भएकाले सिमाला, जिमाला (पुलिक), प्वालोमाला, ऐतिहासिक गहना, लिम्बुवानकालिन हात हतियार, चाँदीका सिक्का जस्ता खजाना खोज्नेहरूले चिहान भत्काएको हुनसक्ने अनुमान पनि गरेका छन् ।
विजयपुर र लिम्बू समुदायको चिहान
इमानसिंह चेम्जोङसहित केही इतिहासकारहरूका अनुसार सन १५८४ मा साङ्लाइङका छोरा पुङ्लाइङले हिन्दुमत धारण गरेर ‘अमर राय’ नामकरण गरे । उनीपछिका पाँच पुस्ताका विजयनारायण रायले हालको धरान बजारको शीर रूपमा रहेको समथर पहाडी इलाकामा दरबार र सहर-बस्ती बसाए । त्यसबेलाको पश्चिम तर्फको साङ्गोरी गढी (अहिलेको साँगुरी गढी) र पूर्व तर्फको भारतप्पाको बिचमा विजयनारायण रायले बनाएको दरबार र बसाएको बस्तीलाई आफ्नै नाम विजयपुर भनेर चिनाए ।
विजय नारायणले मुरेहाङ खेवाङलाई मुख्यमन्त्री बनाए । विजयपुरमा मुख्यमन्त्री रहेकै बेला मुरेहाङले विजयपनारायणको छोरीलाई बलात्कार गरेको घटना बाहिरिएपछि उनले मृत्युदण्ड पाए । आफ्नो बाबुले पाएको मृत्युदण्डको बदला लिन मुरेहाङका छोरा बाजहाङले अन्य आपुङ्गी याक्थुङ राजा र मकवानी राजा लोहाङ सेनसंग सहयोग मागे ।
लोहाङ सेनले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि बाजहाङले पनि लाप्चा राजा तार्वे पानोलाई पराजित गर्न सहयोग गरे । यसैबिच विजयपुरमा चढाइ गर्न उकास्दै आएका बाजहाङको सन १६०८ को युद्धमा खर्साङको गिद्धे पहाडमा मृत्यु भयो । यता विजय नारायणको सन १६०९ मा मृत्यु भयो । उनको उत्तराधिकारी छोरा पनि नभएको र पूर्व मुख्यमन्त्री मुरेहाङको छोराको पनि युद्धमा मृत्यु भएकाले लोहाङ सेनले मुरेहाङका छोरा पानो हाङलाई हिन्दु नामकरण ‘विद्याचन्द्र राय’ बनाएर विजयपुर मोरङमा शासन गर्न दिएर मकवानपुर तिर फर्किए ।
मकुन्द सेन (लोहाङ सेनका बाबु) ले छोराहरूलाई अंशबण्डा गर्दा लोहाङ सेनले आफूले युद्ध नै नगरी जितेकै क्षेत्रहरू विजयपुर मोरङ पाए । त्यसपछि अरू धेरै सेन राजाहरूले विजयपुरमा बसेर शासन गरेपनि चौतारिया र मन्त्री भने याक्थुङ लिम्बूहरू नै हुने पुरानै परिपाटीलाई सेन शासकहरूले निरन्तरता दिए । ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ पुस्तकका लेखक इतिहासकार शिवकुमार श्रेष्ठका अनुसार विजयपुरका अन्तिम राजा कामदत्त सेनलाई चौतारिया बुद्धिकर्ण राय (खेवाहाङ याक्थुङ लिम्बू) ले सन १७६९ मा हत्या गरेर चौदण्डीका राजा कर्ण सेनलाई विजयपुर बोलाएर नाममात्रको राजा बनाउँदै आफू ‘राजभारा सामर्थ’ उपाधि लिएर हर्ताकर्ता बने ।
बुद्धिकर्ण रायले हर्ताकर्ता बनेर शासन गरिरहेको समयमा पृथ्वी नारायण शाह पूर्वतिर राज्य विस्तार गरिरहेका थिए । गोर्खाली सेनाले सन १७७३ मा उनको हत्या गरेपछि विजयपुर औपचारिकरुपमा सन १७७४ अर्थात् वि.स. १८३१ साउन सुदी २२ मा अन्य लिम्बू शासकहरू सँग सन्धि गरेर गोर्खा राज्यमा विलय भयो ।
विजयपुर गोर्खा राज्यमा विलय भएसँगै पहिलेदेखि यहाँ बस्दै आएका याक्थुङ लिम्बूहरूले आफ्नो सत्ता गुमेपछि अन्यत्र गए । पुङ्लाइङ साङलाइङदेखि विजयनारायण, त्यसपछि लोहाङ सेनदेखि कामदत्त सेन र बुद्धिकर्ण रायसम्मको ४ सय वर्षको लामो कालखण्डमा विजयपुर क्षेत्रमा अनेक भारदार, राजा र मन्त्रीबिच काटाकाट भए । पछिल्लो समयमा गोर्खाली सेनाले राज्य विस्तार गर्दा पनि पटक पटक दुई पक्षीय युद्ध चल्यो । त्यस बेला मारिएका, हत्या गरिएकाहरूको समाधि स्थल नै विजयपुरको पञ्चकन्या जङ्गल भएको केही इतिहासकारहरूले बताउँदै आएका छन् । हिन्दु प्रभाव परेपनि याक्थुङ लिम्बू समुदायले मृत भएका आफन्तको शव नदीमा नजलाई पहाडको अग्लो डाँडामा समाधि स्थल बनाएर दफनाउने मुन्धुमी परम्परा छ ।
विजयपुरको समाधि स्थल तत्कालीन समयमा सैनिक पहरा दिने गढी नजिकै छ । कतिपय चिहानहरू भने ४० वर्ष पुराना मात्र छन् । सेन र याक्थुङ लिम्बूको शक्ति र सत्ता गुमेपछि विस १८३१ साउन यता क्रमशः भग्नावेश हुँदै राणाकाल र पंचायतकालमा अरुकै स्वामित्वमा पुगेको विजयपुर दरबार क्षेत्रका पुराना तर कलात्मक शैलीमा कुदिएका ढुङ्गाहरू बाहेक केही भेटिन्न ।
किरात याक्थुङ चुम्लुङको आपत्ति

विजयपुर डाँडाको ऐतिहासिक पुरातात्त्विक समाधीस्थलहरु अज्ञात समूहले भत्काएकोमा लिम्बू समुदायको सामाजिक सांस्कृतिक संस्था किरात याक्थुङ चुम्लुङले आपत्ति जनाउँदै ‘जसले भत्काएको हो, उसैले पुनः निर्माण गरे विवाद समाधान हुने बताएको छ ।
धरान नगर चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले यो विषयलाई अनावश्यक लम्बाउनु भन्दा ऐतिहासिक पुरातात्त्विक स्थलको संरक्षण गर्न तिर चुम्लुङको ध्यान गएको बताए । उनले भने, ‘विजयपुर गढी क्षेत्रको सेन्ट्री तथा स्मारक आसपास करिब दुई दर्जन समाधि भत्काइएको अवस्थामा फेला परेका छन् । समाधिस्थलमा ढुङ्गा-माटो उखेलेर फालिएका छन् ।’
उनले संस्कृति रूपमा समाधि स्थल तोडफोड गर्नु गैर कानुनी भएकोले कानुनी उपचारमा जानकालागि चुम्लुङले घट्नाको जानकारी धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयमा दिएको बताए । उनले भने, ‘ चुम्लुङले प्रारम्भिक अध्ययनमा ती समाधिहरू याक्थुङ लिम्बू समुदायसँग सम्बन्धित रहेकाले करिब सय वर्ष पुराना चिहानमा प्रयोग भएका ढुङ्गा र इट्टा उखेलेर फाल्नु संवेदनहीन, अमानवीय र असामाजिक तत्त्वको काम भएकाले कानुनी कारबाही हुन जरुरी छ ।
चुम्लुङले भत्काइएका समाधिहरू पूर्ववत् अवस्थामा संरक्षण गर्न स्थानीय सरकारसँग आग्रह गर्दै मुलुकी देवानी संहिता, २०७४ अनुसार समाधि स्थल अतिक्रमण तथा क्षति गर्न निषेध गरिएकोले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ । सग्ला चिहानहरू भत्काएको दुई साता पछि मात्र सरोकारवालाहरूले थाहा पाएका थिए ।
विजयपुरको पञ्चकन्या जङ्गलमा रहेको समाधीस्थलका चिहानहरू रहस्यमय तरिकाले भत्काइएको बारेमा धरान-१४ का वडाध्यक्ष कृष्ण भट्टराईले भने आफूलाई औपचारिक रूपमा त्यस्तो जानकारी नआएको बताए । उनले भने, ‘विजयपुर परिसर आफैमा ऐतिहासिक र पुरातात्त्विक मात्र नभएर धार्मिक र सांस्कृतिक क्षेत्र हो । हामी यहाँ भएका पुरातात्त्विक ऐतिहासिक स्थलको संरक्षण सम्वद्र्धन गरेर पर्यटकीय स्थल बनाउनकालागि अनेक उपाय खोजिरहेका छौँ । तर चिहान कसले किन र कुन उद्देश्यले भत्काएको हो त्यसबारे सरोकारवालाले जानकारी दिएको छैन ।’
उनले त्यहाँ चिहान कति छन् र कसले भत्काए यसबारेमा सरोकारवालासँग थप बुझेर संरक्षणकालागि के गर्न सकिन्छ प्रक्रिया बढाउने बताए । इलाका प्रहरी कार्यालयका डिएसपी भिषणबाबु राईले विजयपुरमा रहेका पुराना चिहानहरू रहस्यमय तरिकाले भत्काइएको बारेमा सोधीखोजी भइरहेको बताए । उनले भने, ‘बुझ्ने प्रयास भइरहेको छ । स्थानीय मिडियाहरूमा पनि आएकाले किन र कसले भत्काएको हो बुझ्ने काम भइरहेको छ ।’







































































