धरान : धरान उपमहानगरपालिका अन्तर्गत रहेको नगर बाल सञ्जाल तथा ६ नं. वडा बाल सञ्जालको आयोजनामा १० दिने ‘क्यापासिटी विल्डिङ तथा करियर काउन्सिलिङ वेविनार’ कार्यक्रम सुरु भएको छ ।
कार्यक्रम अनलाइन मिटिङ सफ्टवेयर जुममा सञ्चालन भइरहेको छ । कार्यक्रम कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई लक्षित गरी बनाइएको हो । प्रत्येक दिन विहान ८ बजदेखि ९ बजेसम्म हुने कार्यक्रमको उद्घाटनको दिन एक नं. प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुखवक्ता रहेका थिए ।
कोरोना संक्रमणको त्रासका कारण बालबालिकामा परेको नकारात्मक मनोवैज्ञानिक असरलाई कम गर्न भर्चुअल रुपमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक ६ नं. वडा सचिव तुलसी आचार्यले बताए ।
उनले विद्यालय बन्द रहेको अवस्थामा विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वसँग साक्षात्कार गर्ने अवसर प्रदान गरिएको बताए । कार्यक्रम आइतवारदेखि नियमित १० दिनसम्म संचालन हुनेछ । बालबालिकाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न दक्ष व्यक्तिहरुबाट मेडिटेशन, मोटिभेसन र काउन्सिलिङ्गका कक्षाहरु जुम एम मार्फत संचालन गर्ने योजना रहेको ६ नं. वडा बाल सञ्जालकी अध्यक्ष पुष्पा कटवालले जानकारी दिए ।
सोमबार हुने कार्यक्रममा प्रतिरक्षा शक्ति र आयुर्वेद चिकित्सा सम्बन्धी विषयमा डा. प्रदीप केसीले सहजीकरण गर्ने कार्यक्रम छ ।
मंगलबार राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले खेलकुद र बालबालिका विषयमा, बुधबार आधारभूत मेडिटेसन प्रविधि विषयमा आयोधाराका प्रमुख आचार्य महेन्द्र भट्टराई, बिहीबार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुन, शुक्रबार युवा नेतृ रञ्जु दर्शनाले बालबालिकामा नेतृत्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
१० दिने कार्यक्रममा नायक राजेश हमाल, डा. योगि विकासानन्द लगायतले समेत सहजीकरण गर्ने र त्यसकालागी कार्यक्रम तय हुने चरणमा रहेको कार्यक्रम संयोजक आचार्यले जानकारी दिए । जुम आई डी ९१३५७८२४३५ र पासवर्ड १२३४ रहेको छ । कार्यक्रममा इच्छुक जो कोही पनि सहभागिता हुन पाउने संजालले जानकारी दिएको छ ।


































































