धरान : महिला सञ्जाल धरानको आज सम्पन्न पाचौं अधिवेशनबाट चेतना सेरेङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा शनिवार सम्पन्न ५ औँ अधिवेशनले सेरेङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सञ्जालको कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । समितिको वरिष्ठ उपाध्यक्षमा सपना राई, उपाध्यक्षमा कोपिला भट्टराई र यशोदा कायस्थ चयन भएका छन् ।

यसै गरी, सचिव लहरुमाया जिमी, सहसचिवमा निर्मला शाक्य, सीता मगर चयन भएका छन् । यसै गरी कोषाध्यक्षमा शकुन्तला भुसाल र सह कोषाध्यक्ष निर्मला नेपाल सर्वसम्मत चयन भएका छन् ।

सञ्जालको कार्यसमिति १५ सदस्यीय रहने छ । अधिवेशनबाट पदाधिकारीहरू चयन हुन्छन् भने पहिलो बैठकले समिति विस्तार गर्ने निवर्तमान अध्यक्ष सविता राईले जानकारी दिए ।

तत्कालीन अध्यक्ष सविता राईको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथि एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी, संस्थापक अध्यक्ष गङ्गा बरालले पनि शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । सञ्जालको कोषमा २ लाख १५ हजार रुपैयाँ रहेको निवर्तमान अध्यक्ष राईले जानकारी दिइन् ।