धरान : सारा संसारलाई आक्रान्त पारिरहेको कोरोनाले मलाई पनि अछुतो राखेन ।

कोरोना महामारीले झ्याप्पै पक्डिएको प्रमाणित भएपछि घरमा बस्नुभन्दा आइसोलेसनमा उपचार सहित बस्दा उचित हुने ठानेर म इटहरी रङ्गशालामा बनेको आइसोलेसनमा असोज २८ मा पुगे । २६ गते छोरा अविरल र म एउटै बाइकमा चढेर स्वाब दिन गएको तर छोरोको नेगेटिभ रिपोर्ट आएछ । मेरो कोरोना पोजेटिभ रिपोर्ट आयो । असोज २८ गते देखि विजयादशमीको बिहान ८ बजे सम्मको मेरो आइसोलेसनको भोगाई अत्यन्तै कष्ट र पिडामा बित्यो ।

दशैका मध्यदिनहरू यसरी सेनाको घेरामा बढो अमानवीय व्यवहार र आतसलाग्दो सुँगुरको खोर जस्तो छाप्रामा बिताउनु पर्दा मन रोइरह्यो । म आइसोलेसनमा पुगेको सायद तेस्रो रात हुनुपर्छ इटहरी ३ बौकाझोडाका उमेश सुबेदीलाई एम्बुलेन्सबाट ल्याईपुर्र्याउदा उनी उल्टी गरेर शिथिल थिए ।

 स्लाइन दिन डाक्टर नआउने यस्तो ठाउँमा आफू पुगेकोमा चिन्ता व्यक्त गरिरहेका उनलाइ एक्लै राखिएको ट्वाइलेट छेउको कोठामा अकस्मात् सर्प पस्यो । सङ्क्रमित मध्येका फुर्तिला भाइ सरोज खतिवडाले लाठी लाएर सर्प मारिसकेपछीको उमेशले खै के सोचे कुन्नि  उनी नोबेल अस्पताल जाने भन्दै घर पुगेछन् ।

भोलिपल्ट उनले आफू सङ्क्रमित भएर घरैमा कोरोनासँग लडिरहेको लेखेपछि स्वास्थ्य सामान्य भयो भनेर हामी नि ढुक्क भयौँ । सर्प मारिसके पछि आइसोलेसन इन्चार्ज शिवकुमार झाले त्यो कोठामा पस्नेलाई गोली हानेर मार्दिन्छु भनेर उनले सुनाउँदा मर्माहत भएँ । सङ्क्रमितहरू माथि यस्तो अत्याचार भएपछि मैले नेपाल प्रेस सङ्गठनका प्रदेश अध्यक्ष राजन केडिलाई खबर गरेँ ।

उनले वडाध्यक्ष तथा आइसोलेसनका संयोजक भूपेन्द्र बराललाई लिएर आएछन् । समस्या अति भो, सेनाको अत्याचार र स्वास्थ्यकर्मीको लापरबाहीले हद नाघ्यो हामी घर जान्छौ भनियो तर सङ्क्रमितको आवाज पुरै पैतालामुनि दबाइयो ।

अर्को दिन एक जना अलिक पाका बिमारी रातमा ल्याइए तर श्वासप्रश्वासमा समस्या देखिएपछि हामी सङ्क्रमितहरूले हतार हतार एम्बुलेन्समा हालेर राती १ बजे अस्पताल पठाइयौ । अर्का गिरी थरका सङ्क्रमित ४ दिन देखि दिसा नभएर बिजोग रहेछन् ।

यस्तो सामान्य उपचारमा स्वास्थ्यकर्मी नआएपछि उनलाई पनि हामी आफैले आफन्तको जिम्मा लाएर पठायौ । आइसोलेसनको न्यूनतम पूर्वाधार र औषधीको उपलब्धता जिरो भएको यो ठाउँ साँच्चै भन्दा वधशाला जस्तै लागिरह्यो । घरबाट पठाएको खानाको सेनाले गर्ने खानतलासी, राति राती सङ्क्रमित सुत्ने हलमा प्रवेश गरी सेनाले गर्ने अमर्यादित व्यवहार देख्दा बेलबारीमा सेनाले हत्या गरेकी सपना गुरुङलाई सम्झे ।

करिब ५९/६० सालताका इटहरीका बार र बजारमा सेनाले सर्वसाधारण कुट्दै हिँडेको  सम्झिएँ । क्याटिरिङमा बनाउने भनिएको खानामा सोडा र कुहिएको झोल हालेर आउने नियमित गन्ध, पाकेको फर्सी र गलेका आलुको नियमित प्लास्टिक प्याकिङ देखेर खोल्न समेत वाक्कै लाग्ने हुन्थ्यो । मक्किएका प्लाईका थोत्रा र अस्पतालले कवाडीमा राखेका बेडमा सुतेर कोल्टे फेर्दा रात भरी त्यो सबको  कट्याककुटुक आवाजले निन्द्रा बिथोलिन्थ्यो ।

दिनरात सेनाले बन्दुक सहित चारै सुरमा बसेर दिने पहरा, हलभित्र एक आपसमा बसेर गरिने कुराकानीमा गर्ने निगरानी, सङ्क्रमितका उल्टी र डाइरियाले मन बेचैन हुन्थ्यो । डाइरियाले आक्रान्त भएपछि इटहरीका फर्निचर व्यवसायी भूपाल कार्कीलाई १० दिनमै हामीले कडा प्रतिवादका साथ घर पठाउन सफल भयौ ।

सोडा सहितको खानाले मेरो पनि हालत ठिक थिएन तर मलाई उनीहरू छोड्न तयार थिएनन् । यति सम्मकी बिजयदशामीको अघिल्लो साँझ मैले पिसिआर गरेको १४ दिन पुगेको थियो । यही बिच सोही दिन ५ जना म सँगै पिसिआर गराउने डिस्चार्ज भएका थिए । तर मलाइ टिकाको दिन बिहान ८ बजे सम्म नियतवश थन्काइयो ।

वडाध्यक्ष बराल आएपछि खानामा सुधार र स्वास्थ्यकर्मी तथा सेनाको व्यवहारको सुधारको अपेक्षा अपेक्षामै सीमित रह्यो । केही प्रगति भएन । व्यवहार सुधार र सेनाले आत्मालोचना गर्‍यो भने यो सब बाहिर नलैजाने मेरो इच्छामा तुसारापात भएपछि अब सङ्क्रमित भएर आउनेहरूले यो काल कोठरीको अत्यासलाग्दो रात काट्नु नपरोस् भनेर फेसबुक स्ट्याटस हाल्न बाध्य भएको हुँ ।

सशस्त्र प्रहरीका ६, नेपाल प्रहरीका तिन अन्य एक गरी १० जना सबै सबै यो व्यवहारबाट आजित थिए । काठमाडौँबाट आएका एक जना त त्यहाँको भात दाल देखेर घरैबाट बिहान बेलुकी नै खाना मगाउँथे । दिउँसो ८ रुपियाँ पर्ने गुडडे बिस्कुटलाई खाजा भनिँदो रहेछ । कष्ट र बिजोगहरूका बिच सङ्क्रमितहरूको आत्मीयता बाँच्न प्रेरित गरिरहन्थ्यो ।

 सरकारी आइसोलेसनको यस्तो हालतको कारण धेरै सङ्क्रमितहरू त्यसै त्यसै मृत्यु नजिक पुगिरहेका छन् । बाहिर स्थानीय सरकारले आइसोलेसन व्यवस्थित छ भन्दै हल्ला फिँजाउने अनि प्रदेश सरकार पनि यसैमा हो भन्ने प्रवृत्तिको कारण कोरोना सङ्क्रमित राख्ने आइसोलेसनहरू लथालिङ्ग अवस्थामा छन् ।

यसबारेमा कसले अनुगमन गर्ने ? आइसोलेसनमा सुरक्षाकर्मीले देखाउने दादागिरी र स्वास्थ्यकर्मीको अनुपस्थितिले गर्दा आइसोलेसन रोग निको पार्ने स्थान नभएर काल कोठरी बनिरहेका छन् । त्यसैले इटहरी उपमहानगरपालिकाले यो विषयमा गम्भीर हुन अत्यन्तै जरुरी छ ।

यति बेड र उति बेडको आइसोलेसन सञ्चालन गरेका छौ भनेर उपमहानगरपालिकाले फुक्नु भन्दा आइसोलेसन सञ्चालनमा कत्तिको व्यवस्थित छ ? भन्ने बारेमा उपमहानगरले हेक्का राख्नुपर्‍यो । रह्यो सेनाको कुरा । कोरोना सङ्क्रमितलाई हेर देख गर्न र सुरक्षा प्रदान गर्न राज्यले जिम्मेवारी दिएको हो ।

आइसोलेसनमा बसेका सङ्क्रमितलाई दुर्व्यवहार गर्न होइन यसबारेमा नेपाली सेनाको सम्बन्धित निकायले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी छ । स्वास्थ्यकर्मीले पनि बिरामीको अवस्थालाई सकेसम्म ख्याल गर्नुपर्छ । उपचारबाट भाग्ने होइन पाएको जिम्मेवारी पुर्णरुपमा निर्वाह गर्नुपर्छ ।

यी सबै कुराको तालमेल मिल्यो भने मात्रै कोरोना सङ्क्रमितलाई राखिने आइसोलेसनले सार्थकता पाउँछ । होइन भने आइसोलेसन नाम मात्रैको हुनेछ भन्दा दुई मत नहोला । जब मेरो डिस्चार्ज लेटर तयार भयो भनेर बिहान ७ : ४५ बजे खबर भयो त्यसपछि म मेरो ब्ल्याङ्केट, सिरानी, थाल,गिलास बोकेर निस्किएँ, मेरो डिस्चार्ज पेपर दिँदै आइसोलेसन इन्चार्ज झाले तपाइका सुझावहरू भन्नुहोस् भनेपछि मैले सुरक्षाकर्मीको दुर्व्यवहार र खानेकुराको कन्तबिजोक सुधार्नुस् भने ।

उनले मलाई तपाईँ बाहिर गएपछीको यहाँको कमजोरी खुलेर उजागर गर्नोस् मलाई कुनै  आपत्ति छैन । मैले अन्त्यमा उनलाई “ आइसोलेसन भित्र प्रहरीहरू मात्र छन्, प्रहरी र सेनाको सम्बन्ध राम्रो छैन त्यसैले सुत्ने त्यो खोरमा झुक्किएर पनि सेना नपठाउनु होला ।

बिरामीहरूले आज सम्म कुनै अस्पतालमा एक आपसमा लडाई गरेको सुन्नुभएको छ रु“ भनेर प्रतिप्रश्न गर्दा त्यस्तो सुनिएको छैन भने । अब आइन्दा हलमा स्वास्थ्यकर्मी मात्र प्रवेश गर्ने बाचा गरेपछि मैले धन्यवाद भन्दै घर फर्किएँ ।

Isolation