इटहरी : आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षण प्रतिवेदनमा मेयर शङ्करलाल चौधरीले होटेलमा ३ लाख ९३ हजार १५५ निजी खर्च गरेका छन् ।
मेयर चौधरीले काठमाण्डौँको होटेल बर्दानीलाई दुई पटक गरेर १ लाख ९५ हजार २५० नगरपालिकाबाट भुक्तानी गरेका हुन् ।
मेयरले आफू सहभागी हुने थारु कल्याण कारिणी सभाको कार्यक्रमको लागि वडा नम्बर ६ का वडा सदस्य रञ्जित कुमार चौधरीको नाममा ५२ हजार ४४० खर्च निकासा लिएको पाइएको छ ।
त्यस्तै मेयर चौधरीकै खाजा खर्च बापत घोङ्गी बगिया थारु भिलेजमा ७१ हजार ७२५ रुपैयाँ भुक्तानी भएको छ । होटेल मेरिनामा १४ हजार ६४५ र मेयरको नाममा ओडिसी नेपालमा ५८ हजार ९९५ रुपैयाँ नगरपालिकाले तिरेको हो ।
अयोध्या जाने भ्रमण खर्च बापत मेयर चौधरीले सचिवालयका कर्मचारी नीरज चौधरीको नाममा ५ लाख रुपैयाँ भ्रमण खर्च बुझेका छन् । नगर प्रमुख चौधरीले पनि छुट्टै अयोध्याको लागि यातायात खर्च भन्दै रामधुनीबाट वीरगन्ज सम्मको भाडा बापत ४० हजार लिएको पाइएको छ ।
अयोध्या जाने खर्च देखाएर घोङ्गी बगिया होटेललाई विभिन्न मितिमा ६० हजार भुक्तानी गरिएको छ । असम्बन्धित देखिने गाडी भाडाको थप ३० हजार गरी ९० हजार रुपैयाँ मेयर चौधरीबाट असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।
अर्कातर्फ जनप्रतिनिधिले सुविधा बापत ८३ लाख २० हजार खर्च गरेका छन् । जनप्रतिनिधिको खर्च मात्र आन्तरिक आम्दानीको २१ प्रतिशत भन्दा बढी हो ।
३ करोड ९३ लाख आन्तरिक आम्दानी भएको पालिकाले औचित्यहीन खर्च गरेको महालेखाले जनाएको छ । त्यस्तै बैठक भत्ता बापत कानुन विपरीत पदाधिकारी तथा कर्मचारीले बुझेको ६३ हजार ७५० रुपैयाँ समेत असुल गर्नुपर्ने भएको छ ।मेयर चौधरीले कर्मचारीलाई निर्देशन दिएको बैठकको भत्ता भन्दै १ लाख २ हजार रुपैयाँ भुक्तानी भएको हो ।
कर्मचारीलाई सम्झौता बेगर दिएको ६ लाख ७२ हजार रुपैयाँ समेत असुल गर्नुपर्नेमा बताइएको छ । दोहोरो सुविधा पाएका १४ जना कर्मचारीबाट २ लाख १ हजार ४५० रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।