इटहरी : रामधुनी नगरपालिकामा मेयर शङ्करलाल चौधरी र कर्मचारीको मिलेमतोमा मनपरी भुक्तानी भएको पाइएको छ ।
मेयर चौधरी लगायत जनप्रतिनिधिले विभिन्न भत्ता र होटेल मार्फत पैसा लिइरहेको बेला कर्मचारीलाई भने अतिरिक्त सुविधा दिने गरिएको हो । 
आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षण प्रतिवेदनमा अवकाश प्राप्त हर्षलाल चौधरीलाई कानुन विपरीत उपदान दिएको पाइएको छ । चौधरीबाट ६ लाख ८४ हजार ९५० रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानीय स्वायत्त शासन नियमावली २०५६ विपरीत ७ लाख २१ हजार उपदान भुक्तानी भएको र सोको ३६ हजार ५० रुपैयाँ कर कटाएर ६ लाख ८४ हजार ९५० असुल गर्नुपर्ने देखिएको हो । 
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीलाई दैनिक कामकाज गरेबापत मासिक २५ हजार अतिरिक्त सुविधा लिएका हुन् । चौधरीले मात्र एक वर्षमा २ लाख ६७ हजार ५०० भुक्तानी लिएको महालेखाले जनाएको छ । सोही समयमा ८७ जना कर्मचारीलाई कानुन विपरीत ३१ लाख ४८ हजार ७५२ रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइएको हो । 
त्यस्तै बैठक भत्ता बापत पदाधिकारी तथा कर्मचारीले बुझेको ६३ हजार ७५० रुपैयाँ समेत असुल गर्नुपर्ने भएको छ । मेयर चौधरीले कर्मचारीलाई निर्देशन दिएको बैठकको भत्ता भन्दै १ लाख २ हजार रुपैयाँ भुक्तानी भएको हो । कर्मचारीलाई सम्झौता बेगर दिएको ६ लाख ७२ हजार रुपैयाँ समेत असुल गर्नुपर्नेमा बताइएको छ। दोहोरो सुविधा पाएका १४ जना कर्मचारीबाट २ लाख १ हजार ४५० रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यससँगै निजी विद्यालयको नवीकरण शुल्क समेत नगरपालिकाले नलिएको र जस अनुसार १ लाख ६१ हजार रुपैयाँ २८ वटा विद्यालयबाट लिनुपर्ने बताइएको छ । 
महालेखाले अन्य अनेकौँ विषयमा नियम विपरीत भुक्तानी गरिएको भन्दै असुल गर्नुपर्ने उल्लेख छ । चैते धान कार्यक्रमबाट २ लाख ४६ हजार, बिउँ वितरणमा एक लाख २ सय, अनुदान स्पेयर्स वितरणमा ३० हजार, प्लास्टिक स्पेयर्स वितरणमा ३२ हजार, धान पकेट क्षेत्र कार्यक्रममा दररेट भन्दा १ लाख ५० हजार बढी भुक्तानी भएकाले असुल गर्नुपर्ने बताइएको छ ।