रिंकीबुङको राँगोलाई ......
चुङकेबुङको चुलेसीले ......
ताप्लेजुङमा ताकेर ......
कालेबुङमा काटेर ......
अरुण तमोर तरौला .....
तिते फापर छरौला ......
फूल लाउँला केसरी .....
खाउँला बेसरी ......
कसले नसुनेको होला यो गीत, कसले नगुनगुनाएको होला यो भाका । तर यो गीत र भाका जति मिठो छ । सारङ्गी रेटेर पहाड पर्वत चहार्दै, लेख बेसी डुल्दै यो गीत गाउने सुरेश गन्धर्वको जिन्दगीको कथा भने त्यति नै नमिठो छ । त्यति नै तितो छ ।
माझ किरात भोजपुरको जरायोटारमा जन्मेका यी लोक गायकले जिन्दगीका ६५ वर्ष कालेबुङका सिके श्रेष्ठले दक्षिणा दिएका रिङकेबुङको राँगो भाकाको लोकगीतलाई बोकेर सारङ्गीको रे्याई.. रे्याईसँगै लेक बेसी, उकाली ओरालीहरू धाए । थुप्रै देऊ-देउरालीहरूमा बिसाए, सुसाए ।
उनकै गीत अनुसार कैयौँ अरुण तमोरहरू तरे, तर गीत जस्तै राँगो नै काटेर केसरीको फुल लगाएर बेसरी खान कहिल्यै पाएनन् । सधैँ उनको पेट उनकै सारङ्गी बन्यो । उनको गीत सबैले बेसरी मन पराए तर उनलाई कहिल्यै बेसरी खान पाएनन् ।
लोक गायक सुरेश गन्धर्वको जिन्दगीका धेरै कथाहरूले हामीलाई रुवाउँछ । गाउँघरमा सारङ्गी रेट्दै गीत गाउँदै हिँड्ने क्रममा गाइने जातको भएकोले त्यति बेलाको कठोर जातिवादी सोचका कारण उनले कैयौँ ठाउँमा नमिठो बचन सुन्नुपर्यो । अपहेलना भोग्नु पर्यो । छि-छि दुरदुर सहनु पर्यो । कतै गाँस पाएनन् । कतै बास समेत पाएनन् तर उनले आफ्नो पीडा र दुखको आँशुलाई सारङ्गीको धुन बनाएर पोखाए र दिल शीतल बनाए । २०६० सालमा काठमाण्डौको पशुपति बनकालीको सडकमा सारङ्गी रेटेर गीत गाइरहेका सुरेशलाई एक प्रहरी अधिकृतले 'यहाँ देखि भाग् नत्र तेरो मुन्टो चुँडाएर फालिदिन्छु' भनेर गाली गरेको बचन सम्झेर यी बुढा लोक गायकको आँखा अझैं पनि रसाउँछन् ।
कुनै समय थियो जति बेला सबै ठाउँमा रेडियो समेत पुगेको थिएन । त्यति बेला यिनै सुरेश गन्धर्व जस्तै गाइनेहरूले देशमा घटेका सत्य घटनाहरू गीत मार्फत गाएर गाउँ गाउँ सुनाउँदै हिँड्थे । प्रचार प्रसार गर्थे । सूचना दिन्थे । सुरेशले पनि त्यसै गरे । देशमा घटेका धेरै घटनाहरूलाई गीत बनाएर उनले गाउँदै हिँडे । जवान र हृष्टपुष्ट सुरेश दार्जिलिङ कालेबुङतिर पनि सारङ्गी रेट्न पुगिरहन्थे त्यति बेला कालेबुङका वरिष्ठ नाटककार तथा गीतकार सिके श्रेष्ठले यिनलाई श्रेष्ठकै नाटक भालेमुङग्रोमा गाइएको लोकप्रिय गीत रिङकेबुङको राँगो उपहार दिए । त्यही गीत गाउदै सुरेश नेपालको करिब ७० जिल्ला डुले र यसै गीतबाट उनले ख्याति कमाए । रिङकेबुङको राँगो नै सुरेश गन्धर्वको परिचय बन्यो । उनले यो रिङकेबुङको राँगोलाई २०४९ सालमा धनकुटा देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रेकर्ड गराएका थिए । यो गीत सबैको जनजिब्रोमा त थियो नै पछिल्लो समय पब्लिक स्पिकर रमेश प्रसाईँले गाएपछि भने यो गीतको सर्वाधिक चर्चा भयो । कुनै औपचारिक सङ्गीत शास्त्रको तालिम नलिएका यी लोक गायकले २०६० सालमा नेपाल सारङ्गी वाद्यवादन प्रतियोगितामा दोस्रो भई पुरस्कृत समेत भएका थिए ।
भनिन्छ कलाकार देशका गहना हुन् । सुरेश गन्धर्वलाई राष्ट्रकै प्रमुखहरू मनमोहन अधिकारी, गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, विधा भण्डारीहरूले समेत गहनाकै रूपमा प्रयोग गरे । तर कथा सकिएपछि फेरी सडकमै फालिदिए । आखिर सुरेशको जिन्दगी सडककै पेटीमा बित्यो । राष्ट्रले वरिष्ठ गायक भनेर सम्मान दिएको गायकको जिन्दगी भाडाको एउटा सानो कोठा, अनि आधा पेट दालभातमा आएर अल्झियो । बिरामी पर्दा शुभचिन्तकहरूले चन्दा उठाएर अस्पताल भर्ना गरिदिनु पर्ने अवस्थामा आएर घाउ बल्झियो ।
सुरेश गन्धर्वले सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ५० वर्ष भन्दा बढी भइसकेको छ । जीवनमा उनले कति गीत गाए कुनै लेखाजोखा छैन । तर जति गीत गाए उनले धेरैको मन जिते । सुरेशलाई अहिले आधुनिक बाजागाजाहरूले बिस्तारै सारङ्गीलाई विस्थापित गर्दै लगेकोले पछि नयाँ पुस्ताहरूले सारङ्गी नै नचिन्ने हुन् कि ? भन्ने ठुलो चिन्ता छ । यो सारङ्गीलाई जगेर्ना गरी नयाँ पुस्तालाई बजाउने सिप हस्तान्तरण गर्ने उनको मन छ तर यसमा राज्यले सहयोग नगरेकोमा सुरेशको मन दुखेको छ ।
देशका ठुलो नेताहरूलाई खोकी र हाछ्यू आउँदा समेत राष्ट्रको ढुकुटीबाट विदेशमा उपचार गर्ने, २/४ पल्ट किड्नी फेर्न मिल्ने तर सुरेश गन्धर्वहरू जस्ता राष्ट्रका गहना र सम्पत्तिहरूको लागि सुको सहयोग गर्न नहुने नमिल्ने र खर्चको अभावले उपचार नपाएर यस्ता सपुतहरू तड्पी तड्पी मर्नुपर्ने यो पीडादायक थितिको अन्त्य कहिले हुने हो कोनि यो देशमा ।
देशको मौलिक संस्कृतिलाई जगेर्ना र संरक्षण गर्न आजीवन लागि परेका यी बुढा लोक गायकलाई शरीरमा तागत हुँदा सम्म देशकै प्रधानमन्त्री, मन्त्री र पार्टीहरूले समेत सक्दो प्रयोग गरे । तर अहिले उमेर ढल्केर रुग्ण र रोगग्रस्तभई थला परेको अवस्थामा कसैले सोधी खोजी समेत गरेनन् । यति बेला उनकै गीत रिङकेबुङ नै उनको सहयोगी बन्यो ।
मुटु रोग, बाथ रोग (युरिक एसिड), मधुमेह रोग (सुगर), प्रेसर, थाईराईड जस्ता रोगहरूले ग्रस्त यी रिङकेबुङको राँगोका गायक विरामले ढलेको चर्चा सामाजिक सञ्जालहरूमा आएपछि रंगभूमि एकेडेमीका अध्यक्ष विष्णु मोक्तानको पहलमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचारको लागि भर्ना गरिएको थियो ।
अहिले उनी त्यहाँबाट डिस्चार्ज भएर धरान ८ बरगाँछी स्थीति भाडाको कोठामा आराम गरिरहनुभएको छ । एउटा भनाई छ “हिजो गइसक्यो, भोलि आएको छैन हामीसँग आज छ त्यसैले आउनुहोस् सुरेशलाई सहयोग गरौँ” । अहिलेसम्म उहाँको उपचारमा सहयोग गर्नुहुने महान् हात, साथ र मनहरूलाई म सलाम गर्नचाहान्छु र उहाँको चिरञ्जीवीको प्रार्थना सहित उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
-(लेखक धरान प्रज्ञा प्रतिष्ठानका सदस्य हुन् ) email : pcrdta.sabal@gmail.com