धरान : धरान-५ पानवारीको साउनेटार, धरान ४ को मङ्गलटार, सुमनटार, हर्दिया, धनकुटाको कन्यापोखरी हुँदै मोरङको केराबारी गाउँपालिकाको मितेरी गाउँसम्म जोड्ने सडकको धरान उपमहानगरपालिकाका मेयर सहितको टोली आज साउनेटार पुगेर निरीक्षण गरेको छ ।

उक्त सडकमा दैनिक रूपमा सवारी दुर्घटना भइरहने, वर्षातको समयमा आवतजावत गर्न समस्या हुने गर्दथ्यो । अब भने समस्या टर्ने भएको छ । करिब १ सय ८ मिटर रहेको उक्त सडकको चौडाइ २० फिट छ भने टर्निङ ३० फिटको बन्दैछ ।

Nirikchan-2

आफ्नो गाउँ आफै बनाउनुपर्छ भन्ने उद्देश्यले सडकको ग्राभेल तथा ढलाई गर्न साउनेका स्थानीय जुटेका छन् । उक्त एक खण्ड सडक निर्माण सम्पन्न गर्नका लागि १७ लाख रुपैयाँ बजेट छुटाइएको छ । धरान उपमहानगरपालिकाले ५० प्रतिशत सहयोग गरेको छ भने उपभोक्ता समिति तथा स्थानीयको जनसहभागिता र श्रमदानबाट ५० प्रतिशत बजेट छुटाइएको छ ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज महरका अनुसार साउनेटारको एक खण्ड सडक निर्माणको काम अब ३, ४ दिन भित्रमा सम्पन्न हुनेछ । सडक निर्माणका लागि धरान उपमहानगरपालिकाले विपद् कोषबाट ८ लाख ५० हजार रुपैयाँ अर्थात् ५० प्रतिशत सहयोग गरेको उनले जानकारी दिए ।

Nirikchan-4 अहिले स्थानीयको सहभागिता र श्रमदानबाट समेत निर्माणको काम भइरहेको उनले बताए । उक्त एक खण्ड सडक निर्माण वडा कार्यालयसँग पनि सहकार्य गरेर काम गरिरहेको उनले बताए ।

वडा नं. ५ का अध्यक्ष सन्तोष लिम्बुले बर्खायाममा यो बाटोमा हिँड्न अत्यन्तै समस्या रहेको बताए । उनले भने , ‘यो उकालोमा सवारी साधन चिप्लिने, दुर्घटना दैनिक जसो भइरहने हुन्थ्यो अब ३-४ दिन भित्रमा निर्माण सम्पन्न भएर समस्याको दिगो समाधान हुने भएको छ।' दुर्घटना रोकथाम गर्नकै लागि  ११ दिनदेखि सडकको ग्राभेल र ढलाई गर्ने काम भइरहेको उनले बताए ।

सडक अनुगमनमा पुगेका धरान उपमहानगरका प्रमुख तिलक राईले उपभोक्ता समितिलाई सक्रियता पूर्वक काम गरेको भन्दै धन्यवाद दिए । आज उक्त सडकको निरीक्षण गर्न पुगेका प्रमुख राईले नगरपालिकाले उपभोक्ताको लगानी अर्थात् सहयोगमा नमुना योग्य काम भइरहेको बताए ।

प्रमुख राईले भने-‘त्यो सडकको एक खण्डमा अत्यन्तै उकालो, ओरालो भिरालो बाटो थियो । त्यहाँ ग्राभेल र ढलाई गर्न आवश्यक थियो । त्यहाँबाट वार्ड नं. ५ को साबिक पाँचकन्याको पहाडी भूगोल र मोरङ समेत जोड्ने भएको हुनाले त्यो महत्त्वपूर्ण बाटो हो ।’

Nirikchan-5

अब त्यहाँ ग्राभेल र ढलाईको काम सकिएपछि स्थानीयलाई आवतजावत गर्न सजिलो हुने बताउँदै सवारी दुर्घटना जस्तो जोखिम समेत टरेर जाने नगर प्रमुख राईले बताए ।

निरीक्षणमा धरान उपमहानगरपालिकाकी उप-प्रमुख मञ्जु भण्डारी सुवेदी सहितको टोली पनि पुगेको थियो ।

Nirikchan-3