झापा : झापाको कनकाई नगरपालिका स्थित चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षक हिजो साँझ पक्राउ परेका छन् ।

सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय विद्यार्थीको कुटपिट पछि मृत्यु भएको आरोपमा विद्यालयका खरिदार पदमा कार्यरत रवीन मगर र विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

विद्यालयको कार्यालय सहायक ९खरिदार० पदमा कार्यरत मगरले कक्षा ४ मा पठन–पठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते १० वर्षीय विद्यार्थी कृष्ण प्रसाद राजवंशीलाई कुटपिट गरेको बताइएको छ ।

शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएको र उपचारका लागि विभिन्न अस्पताल पुर्याईएकोमा उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार शिक्षकको पिटाइबाट विद्यार्थीको मृत्यु भएको भन्ने खबर आएपछि प्रधानाध्यापकलाई शिक्षकको घर देखाउनका लागि लगिएको र शिक्षक सहित उनलाई पनि सोधपुछका लागि राखिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा शिक्षक कम भएको समयमा मगरलाई विद्यार्थी कन्ट्रोल गर्न र पढाउने जिम्मेवारी दिने गरेको बताइएको छ ।