धरान : किरात राई यायोक्खा धरान उपमहानगर कार्य समितिले आयोजना गरेको १५ दिने साकेला सिली र ढोल बजाउने तालिम शनिवार सम्पन्न भएको छ ।

धरान-१० स्थित यलम्बर संग्राहलय भवनमा चैत्र १४ गतेदेखि सुरु भएको साकेला सिली र ढोल बजाउने तालिम शनिवार सम्पन्न गरेको हो । नगर अध्यक्ष लोकेन राईका अनुसार धरान नगरका प्रारम्भिक कार्यसमितिबाट आएका ७४ जना प्रतिनिधिले साकेला सिली र ढोल बजाउने तालिम लिएका थिए ।

सहभागीलाई मानव जाति जन्मेदेखि मृत्युसम्म झल्काउने सिली र पशुपन्छी जनावरको हाउभाउ प्रदर्शन गर्ने सिलीको सीप प्रदान गरिएको प्रशिक्षक महेश्वर राईले बताए ।

समापन समारोहका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले तालिममा प्रशिक्षण लिएका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । मेयर राईले कार्यक्रमलाई सम्बोधन गर्दै संस्कार, संस्कृति पुस्तान्तरण हुनुपर्ने बताए ।

मेयर राईले संस्कृतिलाई छेड छाड गर्न नहुने बताए । ‘नक्कल मात्रले पर्याप्त हुँदैन, सैद्धान्तिक ज्ञानसमेत लिनुपर्छ,’ किरात राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका मेयर राईले भने , ‘विभिन्न वर्ग, समुदायको संस्कार, संस्कृतिको जगेर्ना गर्न र उन्नयनमा लाग्न नगर सरकार प्रतिबद्ध छ ।’