इटहरी : थारु समुदायले इष्ट देवताको रूपमा पुजा गर्ने ग्रामथानहरू पछिल्लो समय मासिन थालेका छन् । विकास निमार्णको नाममा ग्रामथानहरू मासिन थालेका हुन् ।
थारुहरूको बाहुल्य रहेको मोरङ र सुनसरीमा पछिल्लो समय थारु पहिचान माथि आक्रमण नै सुरु भएको छ । थारु समुदायको पहिचानको रूपमा लिइने पोखरी, ग्रामथान, इनार जस्ता सांस्कृतिक धरोहरहरू मासिन थालेका हुन् ।
२०७४ मा सम्पन्न स्थानियतहको निर्वाचन पछि सुरु भएको भौतिक विकाशको लहरले धेरै ग्रामथान र पोखरी लोप हुने क्रम सुरु भएको हो। भौतिक विकासको नाममा मन्दिर तथा भवन बनाउँदा ग्रामथान हराएको थारुहरूको गुनासो छ ।
ग्रामथान संरक्षण समातिनै बनाएर सुनसरीमा अभियान चलाइएको छ। तेजनारायण चौधरीको संयोजकत्वमा रहेको समितिले ग्रामथान खोज्ने र त्यसको संरक्षणमा स्थानीयलाई प्रशिक्षित गराउने काम सुरु गरेको छ ।
थारुहरूले सबै देवता एक ठाउँमा राखेर पूजा गर्ने स्थानलाई ग्रामथान भन्ने गरिएको चौधरीको भनाइ छ । उनका अनुसार थारु समुदाय भित्र पर्ने राजधानी, खवास, चौधरी (मोरङगीया र सप्तरीय ) हरू विशेष गरी ग्रामथानमा पूजा गर्ने गर्छन् ।
चौधरीहरूको जीवनयापन तथा कला सँग जोडिएको पोखरी तथा इनारहरू पनि त्यसै गरी समाप्त हुँदै गएका छन् । बढ्दो सहरीकरण र अव्यवस्थित बसोबासको कारण पोखरीहरू मासिएका हुन् ।
पोखरी पुरेर प्लटिङ गर्ने क्रम बढ्दै गएकाले पछिल्लो ५ वर्षमा सुनसरीमा मात्र ५ सय पोखरी मासिएको संयोजक चौधरीको बुझाई छ। इटहरीमा रहेका २ सय ग्रामथानमा अहिले ५० वटा मात्र संरक्षणमा रहेको उनले बताए ।
भुमाफीयाको चपेटामा परेर भत्किएका ग्रामथानको संरक्षणमा स्थानीय सरकारले चासो नदिएको थारु संस्कृति बचाउ अभियानका अभियन्ता पदम अधिकारी बताउँछन् । विकासको नाममा संस्कृतिमा माथि अतिक्रमण बढेको उनले बताए।
सोही बमोजिम कचना ग्रामथान लाई कचना महादेव मन्दिर बनाउने देखी बिक्षुधामी ग्रामथानलाई शिव नारायण मन्दिर बनाइएको छ । इटहरी ५ मा रहेको ग्रामथान मासेर सत्सङ्ग मन्दिर स्थापना गरिएको छ ।
विभिन्न बहानामा थारु संस्कृतिमाथि अतिक्रमण बढ्दै गएको अधिकारीले प्रस्ट पारे। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा संस्कृति स्थलहरूको संरक्षण गर्ने भनी प्रस्ट व्यवस्था भए पनि जनप्रतिनिधिहरुले ग्रामथान संरक्षणका लागि कुनै पहल नगरेको उनको गुनासो छ।
थारु समुदायको बाहुल्य रहेको सुनसरीको इटहरी, दुहबी, झुम्काको प्रमुखहरू सोही समुदायबाट निर्वाचित भए पनि अहिलेसम्म थारु संस्कृति संरक्षणमा कुनै पहल भएको देखिँदैन ।