बालपन हाँसेको समय
एकाएक हराउँदा
मृगले कस्तुरी खोजे झै भयो
चि मुसी चि खेलेको
ढुकुमुकु खेलेको
आम्नेसाम्ने बसेर
गट्टी खेलेको
अनि चिमोटाचिमोटी गरेको
त्यो बिपना
एकाएक बिलायो
बलेंसीको थोपा झैं ।

अनायास कस्तरी क्रमश छुट्यायो
आपसमा हेराहेर गरेको
अन्जानमा जिस्काजिस्की खेलेको
रहरको कोपिला फुल्नै नपाइ
कुन परिवेशले ठिगुरियो
अनि
तिमी र म अचानक दुई किनारा
नदिलाई बार लगाउँदै
भेट हुनै नसक्ने भयौं र ?

भर्खर पलाएका चिउलाहरु झैं
हुर्केका चिन्हहरु
अन्जान चञ्चलले स्पर्श भएको
त्यो खुला तिम्रो यौवनी तरङ्गमा
कुन संस्कृतिले चुकुल लगायो हँ ?

परेली झम्किदा
नजर सर्माउँथ्यो
हाँसो निस्किदा
कुत्कुती आउँथ्यो
कलकलाउँदा ओठहरु
लाल स्टेभेरी जस्तै
मोहक भरेर लोभलाई बोलाउँथे
अनि
कुन संस्कारले गायब गर्‍यो
रहरहरुको लहरलाई ?

फरक त केही थिएन
मायाको ज्योति एकैथ्यो
कसरी छोपियो
मनका ताराहरुको प्रकाश ?

त्यो स्मृति आज
भग्नावेश भइसकेको छैन ।।


खरखरे -दमक