धरान: लायन्स क्लब अफ सिंहदेवी धरानको अध्यक्षमा सुजेन्द्र तामाङ सर्वसम्मत निर्वाचित भएका छन्।
यस अघि द्धितिय उपाध्यक्ष रहेका उनलाई जुम प्ल्याटफर्म मार्फत भएको भेलाले सन् २०२१-२०२२ का लागि अध्यक्ष चयन गरेको हो । भेलाले प्रथम उपाध्यक्षमा सन्ध्या श्रेष्ठ, द्धितिय उपाध्यक्षमा जयप्रकाश शर्मा, तृतीय उपाध्यक्षमा झुमादेवी राई, सचिवमा पञ्चकला राई, कोषाध्यक्षमा मनोज अग्रवाल र सहसचिवमा रमिता श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरू भने बैठकबाटै मनोनीत गरिने जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष तामाङले उपचाररत अवस्थामा रहेको प्रथम उपाध्यक्ष सन्ध्या श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै लायन्स क्लबको सिद्धान्त, उद्देश्य, लक्ष्य, मूल्य र मान्यता बमोजिम समाज सेवाका कार्यहरूमा लायन्स क्लब अफ सिंहदेवीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका अध्यक्ष डा. योगेन्द्र पालुङवाले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ का कारण जुम प्ल्याट फर्म मार्फत भेला आयोजना गरिएको बताउँदै आफ्नो कार्यकालमा अतुलनीय सहयोग गरेको भन्दै क्लबका सबै पदाधिकारी, सदस्य र सल्लाहकारहरूलाई धन्यवाद व्यक्त गरे ।
क्लबका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाको अध्यक्षतामा भएको भेलामा अध्यक्ष पालुङ्वा, द्धितिय उपाध्यक्ष सुजेन्द्र तामाङ, तृतीय उपाध्यक्ष झुमादेवी राई, सचिव जयप्रकाश शर्मा, कोषाध्यक्ष रमिता श्रेष्ठ, सदस्यहरू मनोज अग्रवाल, रिता सुन्दास, गीता पौडेल लगायतले मन्तव्य राखेका थिए ।