इटहरी : नेपाल प्रेस युनियन उद्योग वाणिज्य सङ्घ इटहरी र युवा उद्यमी मञ्च सुनसरीले अक्सिजन सहितको ४० बेडको आइसोलेसन बनाउने भएका छन् ।

उवासंघको नेतृत्वमा इटहरी १० मा रहेको पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युट भवनमा आइसोलेसन तयार हुन लागेको हो ।

सोमबार सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सहित इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रमुख कमल थापा, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख माधव पौडेलको टोलीले सो भवनको अवलोकन गरेको छ ।

उवासंघ इटहरी अध्यक्ष भिम बहादुर पौडेलको नेतृत्वमा बन्न लागेको आइसोलेसनले सुनसरी भरीका कोरोना सङ्क्रमितको लागी उपयोगी हुने विश्वास लिइएको छ ।

अनुगमनपछि प्रजिअ ढकालले सामाजिक संस्थाबाट भएको अग्रसरताको खुलेर प्रशंसा गरे । निजी क्षेत्रबाट आइसोलेसनको व्यवस्थापन हुन धेरै सकारात्मक भएको उनको भनाई छ ।

उवासंघ अध्यक्ष पौडेलको संयोजकत्वमा एक समिति नै बनेर आइसोलेसन व्यवस्थापन सुरु भएको छ । इटहरी पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएकोले बेलैमा सचेत भएर तयारी थालिएको पौडेलले बताए ।

निमार्णाधिन आइसोलेसन कक्षमा निःशुल्क पौष्टिक आहार सहित अक्सिजनको व्यवस्था गरिने उनको भनाई छ । चिकित्सकको निगरानीमा बिरामी राखीने भएकोले औषधी उपचारमा कुनै कमी हुन नदिने उनले दाबी गरे ।

त्यस्तै प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले सुनसरीमा अग्र मोर्चामा खटिने प्रत्रकारलाई प्राथमिकतामा राखेर उपचारको व्यवस्था मिलाइने बताए । फिल्डमा खटिएका पत्रकारहरूमा उच्च जोखिम भएकाले उनीहरूलाई प्राथमिकता दिइने उनको भनाई छ ।

अघिल्लो वर्ष पनि अधिकारीले २६० जना पत्रकारको निःशुल्क कोरोना बिमा गरिदिएका थिए । निम्न वर्गका पत्रकारको घरैमा राहत सामग्री पुर्‍याएर उनले सहयोग गरेका थिए ।