विराटनगर : कोरोना सङ्क्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ ।

क्युरा हेल्थले विशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि:शुल्क उपलब्ध गराउने भएको हो ।

महामारीको समयमा अस्पताल वा क्लिनिक जाँदा सरुवा रोग कोभिड लगायतका सङ्क्रमणहरू सर्ने सम्भावना हुँदा टेलिमेडिसिन सेवा मार्फत सेवा लिन सकिने जनाइएको छ । सामान्य लक्षण भएका सङ्क्रमित पत्रकारहरूलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस भनेर क्यूरा हेल्थले यस्तो सुविधा निःशुल्क दिन लागेको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताइन् ।

कोरोना सङ्क्रमणपछि उत्पन्न हुनसक्ने डर, त्रास र सङ्क्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने उनले बताइन् ।

टेलिमेडिसिन सेवा प्राप्त गर्न क्यूरा हेल्थको मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्ने जाजुले बताइन। उनले भनिन् ‘एपमा देखाइए अनुसार कोभिड-१९ खण्डमा गई सूचिकृत भएका चिकित्सकहरूसँग अपोइन्टमेन्ट लिनुपर्छ र चिकित्सकहरूबाट सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।’

यसैबिच क्यूरा हेल्थसँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च विराटनगर शाखा र पत्रकार महासङ्घ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरूलाई सम्पर्क गराउन छुट्टै वेभ लिङ्क सञ्चालनमा ल्याएको छ ।

नेपाली युवा उद्यमी मञ्च विराटनगर अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सवै जना मानिसहरू त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्तिहरू पनि अन्योलमा परिरहेको बताए । उनले प्लाज्मा दान गर्न चाहने व्यक्तिहरूले सो वेबसाइट मार्फत आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिहरूले सम्पर्क गर्न सक्ने र सङ्क्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिहरूको विवरण थाहा पाउन सहज हुने बताए ।

अध्यक्ष खनालले अस्पतालहरूमा उपचाररत सङ्क्रमितहरूका लागि सामाजिक सञ्जालहरूमा प्लाज्मा आवश्यक भएको सूचनाहरू धेरै आउन थालेकोले प्लाज्मा दिन इच्छुकहरूलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि आग्रह गरे ।

क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जाजुले भनिन्, ‘प्लाज्माका बारेमा सामाजिक सञ्जालहरूमा धेरै सूचना तथा जानकारीहरू देखिरहेका छौँ, प्लाज्मा दान गर्न इच्छुक व्यक्तिहरू अगाडि आइदिनु होला, दानले कसैको ज्यान बच्न सक्दछ’ ।

उनले भनिन्, 'यी सबै कुरालाई हेरेर हामीले प्लाज्मा दानकर्ताहरूलाई हाम्रो वेबसाइटमा गएर हेरेर आफ्नो जानकारी तथा विवरणहरू भरिदिन हुन अनुरोध गरेका छौँ ।'